• १३ साउन २०८१, आइतबार

मध्य चीनमा पहिरोमा परी ११ जनाको मृत्यु

blog

साङ्घाई, साउन १३ गते । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी)ले जनाएको छ । 

आधिकारिक प्रसारणकर्ता सिसिटिभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ । घटनास्थलमा दुई सय ४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्दार कार्य जारी रहेको सिसिटिभीले समाचारमा उल्लेख गरेको छ ।  

यस महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो । मे महिनामा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो । रासस/एएफपी