• १३ साउन २०८१, आइतबार

यस वर्ष घटे डेङ्गुका बिरामी

blog

बुटवल समाचारदाता

बुटवल, साउन १३ गते । रुपन्देही जिल्लामा यो वर्ष डेङ्गुका बिरामी घटेका छन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताललगायत विभिन्न पालिकामा रहेका स्वास्थ्य केन्द्रमा गरी यो वर्ष अहिलेसम्म ५३ जनामा मात्रै डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले रुपन्देहीमा यो वर्ष डेङ्गु धेरै घटेको बताउनुभयो । उहाँले गत वर्ष यही अवधिमा तीन सय जनामा डेङ्गु सङ्क्रमण देखिए पनि यो वर्ष अहिलेसम्म ५३ जनामा मात्रै डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण घट्नुको मुख्य कारण स्थानीय सचेत हुनु उहाँको भनाइ छ । 

विगतका वर्षमा डेङ्गु नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय रुपन्देही र जिल्लाका १६ वटै पालिकाले ‘खोज र नष्ट गर’ अभियान चलाएर सहरदेखि ग्रामीण क्षेत्रसम्म सचेतना अभियान चलाएका कारण यो वर्ष डेङ्गु सङ्क्रमण घटेको अनुमान गरिएको छ । निरीक्षक शाहका अनुसार डेङ्गु ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएका कारण त्यसले समुदायमा सचेतना फैलिएको र डेङ्गुबाट बच्न घर वरिपरि सरसफाइ गर्ने, खाल्टाखुल्टीमा पानी जम्न नदिने, झुल लगाएर सुत्ने गरेका कारण त्यसको प्रभाव यो वर्ष परेको हो । 

यो वर्ष भने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले डेङ्गु ‘खोज र नष्ट गर’ अभियान अहिलेसम्म सञ्चालन गरेको छैन । पालिकाहरूले भने आआफ्नो क्षेत्रमा डेङ्गु नियन्त्रण अभियान चलाएका छन् । बुटवल उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले यो वर्ष डेङ्गुको सङ्व्रmमण विगतको भन्दा कम देखिएको बताउँदै वर्षाको समय अझै रहेकाले सचेत हुनुपर्ने बताउनुभयो । 

उहाँले बुटवल उपमहानगरले डेङ्गु खोज र नियन्त्रण अभियान सञ्चालन गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको र टोल टोलमा डेङ्गु नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको बताउनुभयो ।  महिला स्वास्थ्यकर्मी माया गौतमले गाउँभन्दा बजार क्षेत्रमा फोहोर जम्ने, नालीमा फोहोर पानी जमेका कारण लामखुट्टे उत्पन्न हुने, टायर, ड्रम, खाली बाल्टिनलगायतका सामान जथाभाबी फालेका कारण लामखुट्टेले त्यसमै फुल पारेर डेङ्गु गराउने एडिस एजिप्टाई लामखुट्टे बढ्न सक्ने भएकाले सहरका चोक र गल्लीमा स्थानीयलाई सचेत गराउने अभियान चलाएको बताउनुभयो ।

गत वर्ष गर्मी सुरु भएसँंगै डेङ्गुका बिरामी बढेका कारण पालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यो वर्ष भने अभियान सञ्चालनमा ढिलाइ भएको छ ।