• १२ साउन २०८१, शनिबार

‘देशको आवश्यकताले एमाले–कांग्रेस एक ठाउँमा’

blog

४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुस्तक विमोचन गर्दै एमाले सचिव पद्मा अर्यालसहित अन्य अतिथिहरू ।

राधाकृष्ण डुम्रे

वालिङ, साउन १२ गते । नेकपा (एमाले) का सचिव पद्माकुमारी अर्यालले देशको आवश्यकताले एमाले र कांग्रेस एक ठाउँमा आएको बताउनुभएको छ । 

मुलुकमा सङ्कट परेका बेला दुई पार्टी मिलेको इतिहास रहेको भन्दै अर्यालले अव नयाँ काम हुने दाबी गर्नुभयो । ४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाको आयोजनामा आयोजित अन्तरक्रिया तथा पुस्तक विमोचन कार्यक्रममा सचिव अर्यालले एमाले र कांग्रेस मिलेर अगाडि बढेका बेला देशले नयाँ प्राप्ति गरेको उदाहरण रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनका बेलादेखि प्रमुख प्रतिपक्षी भएका एमाले र कांग्रेस देशको समृद्धिका लागि मिलेर अगाडि बढेका हुन् ।” निर्वाचनका बेला पुनः आफ्नै ढङ्गले अगाडि बढ्ने उहाँको भनाइ छ । 

पुष्पलालले निर्माण गरेको नेकपा (एमाले) आज देशको प्रमुख पार्टी भएको भन्दै एमालेसहित अन्य वामपन्थी पार्टी पनि पुष्पलालकै योगदान रहेको उहाँले बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीको मेरो ‘भूमिगत यात्रा’ संस्मरणात्मक निबन्ध सङ्ग्रह र साहित्यकार अनन्त अर्यालको ‘कालापत्थर’ कविता सङ्ग्रहको विमोचन गरिएको छ ।

कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य पराजुलीले पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि ओमा शर्माले टिप्पणी गर्नुभएको थियो ।