• १२ साउन २०८१, शनिबार

बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा

blog

बागमती सफाइ महाअभियान । फाइल तस्बिर

काठमाडौँ, साउन १२ गते । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा प्रवेश गरेको छ । कोटेश्वरस्थित बागमती पहेँलो पुल नजिकैको बागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । 

सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ । सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो । अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ । वि.सं.२०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिइन निरन्तर जारी छ । 

बागमती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, सहरमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ । रासस