• ११ साउन २०८१, शुक्रबार

दलित तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन ११ गते। गोरखाको अजिरकोट गाउँपालिकामा दलित तथा विपन्नको लागि निःशुल्क स्वास्थ्य बिमा अभियान सञ्चालन भएको छ। मंगलबारबाट अजिरकोट गाउँपालिकाभित्र सम्पूर्ण दलित तथा विपन्न समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उदेश्यले अभियान सञ्चालन भएको हो। 

पालिकाको चालु आर्थिक वर्ष २०८१/२०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम मार्फत आवश्याक बजेट विनियोजन गरी पालिकाभित्रका सम्पूर्ण दलित तथा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा विपन्न घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पु–याउन पालिकाले करिब सात सय जनालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम अघि बढाएको र अहिलेसम्म १ र २ नम्बर वडामा निःशुल्क स्वास्थ्य बिमा सम्पन्न भइसकेको उहाँले बताउनुभयो। 

गाउँपालिकाले दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजानिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैले बिमा बापतको रकम बुझाएर अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था गरेको छ। गाउँपालिकाले संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्यन गर्न निःशुल्क बिमा कार्यक्रम थालनी गरेको अध्यक्ष देवकोटाको भनाइ छ।  

विपन्न एवम् दलित घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमामा आबद्ध गराउन गाउँपालिकाले मुटु फाउण्डेशन साथै मनोज एसोसिएसन फ्रान्सको साझेदारीमा सहकार्य गरेको गाउँपालिकाले जनाएको छ।