• १२ साउन २०८१, शनिबार

सुनसरीमा एसइई पूरक ग्रेडवृद्धिका लागि १० परीक्षा केन्द्र ताेकियाे

blog

फाइल तस्बिर ।

जयकृष्ण यादव 

इनरुवा, साउन ११ गते । सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि दश वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न ८ स्थानीय तहमा १० विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो । 

धरान र इटहरी उपमहानगरपालिकामा विधार्थीको सङ्ख्याको आधारमा दुई÷दुई वटा परीक्षा केन्द्र, इनरुवा, दुहवी, रामधुनी र वराहक्षेत्र नगरपालिकामा एक÷एक वटा परीक्षा केन्द्र तोकिएको छ । गाउँपालिकातर्फ हरिनगरमा एउटा परीक्षा केन्द्र तोकिएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीका अनुसार सदरमुकामस्थित इनरुवा नगरपालिकाको शारदा माध्यमिक विद्यालय, दुहवीको सरस्वती माध्यमिक विद्यालय, इटहरी उपमहानगरपालिकाको जनता मावि र ज्योति मावि, धरानको पब्लिक हाइस्कूलसहित दुई, हरिनगर गाउँपालिकाको हरिनगारा मावि, रामधुनीको भासि मावि  र वराहक्षेत्र नगरपालिका ११ मधुवनको जनता मावि गरी दश वटा परीक्षा केन्द्र तोकिएको छ । 

उक्त १० वटा परीक्षा केन्द्रमार्फत ग्रेडवृद्धि परीक्षामा पाँच हजार ४०० जना परीक्षार्थी सामेल हुने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणतर्फ र प्राविधिक धारतर्फका गरी सो सङ्ख्यामा परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा साहभागी हुँदैछन् । 

परीक्षामध्ये सबैभन्दा बढी गणित विषयमा एकै दिन तीन हजार ४०० परीक्षार्थी सामेल हुनेछन् भने अन्य दिनमा सोभन्दा कम विद्यार्थी परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षार्थीको सुविधालाई ध्यानमा राखेर परीक्षा केन्द्र तोकिएको छ ।