• २ माघ २०८१, बुधबार

महोत्तरीमा सवारी दुर्घटनामा कमी

blog

सवारी चालकलाई सवारी नियमा पालनाबारे जानकारी गराउँदै बर्दीबास ट्राफिक प्रहरी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, साउन ११ गते । महोेत्तरीमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ । बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव ०८०-८१ महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु हुनुका साथै गम्भीर र सामान्य गरी ७६२ जना घाइते भएका थिए । 

दुर्घटनाको यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २३७ ले कमी आएको हो । आव ०७९-८० मा ७४१ वटा सवारी दुर्घटना हुँदा ६९ जनाको मृत्यु र १ हजार २०६ जना घाइते भएका थिए । जिल्ला ट्राफिक प्रमुख रामभक्त भट्टराईका अनुसार ट्राफिक सचेतनाको प्रभाव, नियमित चेकजाँच, ट्राफिक सचेतीकरणका लागि होर्डिङबोड, राजमार्गमा जडान भएका सीसी क्यामेराको प्रभावलगाएतका कारणले दुर्घटना र हताहतको सङ्ख्यामा कमी आएको हो । 

यस अवधीमा जिल्लाभरमा गरी ६६८ वटा सवारी दुर्घटनामा परेका थिए । तीमध्ये सवैभन्दा बढी ४७८ वटा मोटरसाइकलले दुर्घटना गरेको ट्राफिक प्रमुख भट्टराईले बताउनुभयो । त्यस्तै ४७ थान कारजीप, ३७ वटा टेम्पु, २१ वटा ट्रयाक्टर, १८ बस र १४ ट्रक दुर्घटनामा परेका थिए । 

वर्ष दिनकोे अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ५५ थान सवारीलाई कारबाही गरि तीन करोड ४६ लाख २५ हजार ३५० रुपियाँ राजस्व सङ्कलन गरेको बर्दीबास ट्राफिकले जनाएको छ । 

कारबाहीको यो सङ्ख्या अघिल्लो आव ०७९-८० को तुलनामा तीन हजारले कम हो भने राजस्व सङ्कलन ७ प्रतिशतले बढी हो । आव ०७९÷८० मा बर्दीबास ट्राफिकले ४३ हजार ३०० सवारीमाथि कारवाही गरे पनि राजस्व भने तीन करोड २३ लाख ६८ हजार ५०० रुपियाँ मात्र उठान सकेको थियो । 

ट्राफिक प्रमुख रामभक्त भट्टराईले यो वर्ष कारबाहीभन्दा सचेतीकरण अभियानलाई प्राथमिकतासाथ अघि बढाएकोले दुर्घटनामा कमी ल्याउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, "यो वर्ष ट्राफिक सचेतीकरणका १ हजार ४८६ वटा कार्यक्रममार्फत ९० हजार ८३५ जनालाई प्रशिक्षण दिएकोले पनि दुर्घटनामा कमी देखापरेको हो ।"