• ११ साउन २०८१, शुक्रबार

उद्योगीमा व्यावसायिक आत्मविश्वासको कमी

blog

पचास प्रतिशतभन्दा बढी उद्योगीसँग छैन लगानी योजना

काठमाडौँ, साउन ११ गते । व्यवसायका लागि उपयुक्त वातावरण नभएको कारण देखाउँदै करिब दुई तिहाइ उद्योगीले नयाँ लगानीको योजना नै नबनाएको एक अध्ययनले देखाएको छ । 

नेपाल उद्योग परिसङ्घले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास (माघ–चैत) को औद्योगिक स्थिति अध्ययन प्रतिवेदनले धेरै उद्योगीसँग लगानी योजना नरहेको देखाएको हो । 

प्रतिवेदन अनुसार अध्ययनमा सहभागी कुल उद्योगीमध्ये ६५.५७ प्रतिशतले त्यसपछिको त्रैमासका लागि लगानी योजना नरहेको प्रतिव्रिmया दिएका हुन् । अध्ययनमा सहभागी उत्पादनमूलक उद्योगसँग सम्बन्धित ७३.५३ प्रतिशत र सेवा क्षेत्रका ५५.५६ प्रतिशतले नयाँ लगानीको योजना नरहेको उल्लेख गरेका हुन् । केवल ३४.४३ प्रतिशतले मात्र आगामी त्रैमासमा लगानीको योजना रहेको प्रतिव्रिmया दिएको प्रतिवेदनमा उल्लेख छ । 

परिसङ्घले यो अध्ययन प्रतिवेदनका लागि ६१ वटा उद्योगमा अध्ययन गरेको थियो । यी उद्योगमा १४ हजार ४३० जनाले काम गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ । 

अध्ययनमा समेटिएका प्रायः धेरै उद्योगीले व्यावसायिक आत्मविश्वास नरहेको प्रतिव्रिmया दिएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार व्यावसायिक आत्मविश्वाससम्बन्धी सूचकमा कुल १० अङ्कमध्ये जम्मा ४.४ अङ्क प्राप्त छ । 

धेरै उद्योगीले आगामी त्रैमासमा पनि आफ्नो व्यवसायमा सुधार हुने विषयमा आशावादी देखिएका छैनन् । खास गरी आम्दानी, लगानी अवसर, नियामकीय वातावरण, वित्त पहुँच, श्रम र आवश्यक सुविधाको उपलब्धता जस्ता विषयमा उद्योगी आत्मविश्वासी नदेखिएका हुन् । खास गरी बृहत् अर्थतन्त्रका धेरै सूचक व्यवसायका लागि सहयोगी नदेखिएका कारण आत्मविश्वास कम देखिएको हुने सक्ने प्रतिवेदनमा जनाइएको छ । 

प्रतिवेदनले उद्योगको क्षमता उपयोग पनि घटाएको देखिएको छ । उक्त त्रैमासमा उद्योगले कुल क्षमताको औसतमा ५८ प्रतिशत मात्र उपयोग गरेको अध्ययनले देखाएको छ, जुन त्यसअघिको त्रैमासमा ६२.३१ प्रतिशत थियो । क्षमता परिचालन घटेसँगै उद्योगहरूको आम्दानीमा पनि गिरावट आएको देखिन्छ । प्रतिवेदनले उद्योगको आम्दानी ३.८७ प्रतिशतले घटेको जनाएको छ, जुन त्यसअघिको त्रैमासमा १.८७ प्रतिशतले मात्र घटेको थियो । क्षमता परिचालन र आम्दानी घट्नुको सोझो सम्बन्ध बजारको माग घट्नुसँग जोडिएको देखिन्छ । अध्ययन अनुसार बजार माग २.६४ प्रतिशतले घटेको छ । त्यसमध्ये पनि उत्पादनमूलक उद्योगको बजार माग १३.५३ प्रतिशतले घटेको देखिन्छ । 

अध्ययन अनुसार उद्योगीले आफ्नो चालु पुँजीका लागि ४२.७४ प्रतिशत पुँजी बैङ्क तथा वित्तीय संस्थाबाट व्यवस्था गरेको देखिन्छ । सञ्चालनमा रहेका उद्योगमध्ये अझै पनि ५४.३९ प्रतिशत उद्योग विद्युत्का लागि अझै पनि जेनेरेटरमा निर्भर रहने देखिएको छ ।  

उद्योगमा नयाँ रोजगारी सिर्जना पनि एकदमै कम मात्र देखिएको छ । रोजगारीका लागि प्राप्त तीन हजार ५७१ वटा निवेदनमध्ये ३१० जनाले मात्र रोजगारी पाएको अध्ययनले 

देखाएको छ । उद्योग सञ्चालनमा लागि उद्योगीले सबैभन्दा धेरै कर प्रशासन, विद्यमान करका दर र राजनीतिक स्थिरतालाई अवरोधका रूपमा उल्लेख गरेका छन् ।