पेरिस ओलम्पिक–२०२४: अन्तर्राष्ट्रिय खेलकुदको मञ्च ठूलो भए पनि नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुद (एसियाड) मा सर्वप्रथम प्रवेश गरेको थियो । सन् १९५२ को हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकका रूपमा नेपालबाट नरशमशेर जबरा र कृष्णबहादुर वर्मा पठाइएको भनिए पनि त्यसको आधिकारिकता पुष्टि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत गर्न सकेको छैन ।
३३ औँ संस्करणसम्म आइपुग्दा समग्रमा नेपालका ९३ खेलाडीले मात्र ओलम्पिकमा सहभागिता जनाएका छन् । सन् १९६४ देखि ओलम्पिकका प्रतिस्पर्धात्मक खेलमा नेपालका खेलाडीले भाग लिने गरेको इतिहास छ । जसमा म्याराथन धावक वैकुण्ठ मानन्धर सबैभन्दा भाग्यमानी मानिन्छन् । उनले चार पटक लगातार ओलम्पिकमा सहभागिता जनाउन पाएका थिए ।
फ्रान्सको राजधानी पेरिसमा साउन ११ देखि २७ गतेसम्म हुँदै गरेको ३३ औँ ओलम्पिकमा नेपालका दुई खेलाडीले छनोट चरण पार गरेरै सहभागिता जनाउने भएका छन् । ओलम्पिकको एकै संस्करणमा यसरी नेपालका दुई खेलाडीले छनोट चरण पार गरेर सहभागिताको टिकट पहिलो पटक पाएका हुन् ।
यसअघि छुट्टाछुट्टै ओलम्पिकको संस्करणमा तेक्वान्दो खेलाडीद्वय सङ्गीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । केहीले वाइल्ड कार्ड र सबैजसोले कोटाबाटै सहभागिता जनाउँदै आएकोमा पेरिस ओलम्पिकमा नेपालका कुल सात खेलाडी सहभागी हुने छन् । टेबल टेनिसबाट स्यान्टु श्रेष्ठ र जुडोबाट मनिता श्रेष्ठ प्रधानले छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाए ।
अन्य खेलाडीमा ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङका सुष्मिता नेपाल, पौडीका एलेक्स (एलेक्जेन्डर एस शाह) र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिसमा प्रतिस्पर्धा गर्ने छन् । प्रिन्स र सुष्मिता आमन्त्रित कोटामा तथा बाँकी खेलाडीले निर्धारित कोटामा खेल्न पाएका हुन् ।
सात खेलाडीमध्ये एलेक्स अमेरिकामा प्रशिक्षणरत छन् । उनी अमेरिकामै बसेर पढ्छन् र आफ्नै खर्चमा अभ्यास गरिरहेका छन् । छात्रवृत्ति पाएर जुन खेलाडीले अभ्यास गरिरहेका थिए उनीहरू छनोटमा नपरेपछि एलेक्सले अवसर पाएका हुन् ।
यस्तै डुवानाले थाइल्यान्डमा रहेर प्रशिक्षण लिइरहेकी छन् । उनले पनि आफ्नै खर्चमा प्रशिक्षण लिइरहेकी हुन् । त्यस्तै श्रीलङ्कामा प्रिन्सको अभ्यास चलिरहेको छ । स्यान्टुले अस्ट्रेलियाको सिड्नीमा प्रशिक्षण लिइरहेका छन् । सुष्मिता, सन्तोषी र मनिताको प्रशिक्षण नेपालमै चलिरहेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्थापना सन् १९६२ मा भयो । वसुन्धरा शाह नेतृत्वको टिमले गरेको प्रयासपछि सन् १९६३ मा नेपाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को सदस्य बनेको थियो । सोही वर्ष नेपालमा पहिलो पटक ओलम्पिक मसाल ल्याइयो ।
त्यसपछि सन् १९६४ को जापानको टोकियोमा भएको १८ औँ ओलम्पिकमा नेपालले प्रतिस्पर्धाका रूपमा आधिकारिक सहभागिता जनायो । नेपालले त्यसपछि सन् १९६८ को मेक्सिको ओलम्पिकबाहेक अहिलेसम्मका एसियाड र ओलम्पिक खेलकुदमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
अबको योजना
लामो समयदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाए पनि खेलमा सुधार गर्न भने सकेको छैन । नेपाल जस्ता खेल सुधार गर्न नसक्ने अन्य सहभागी राष्ट्रलाईसमेत ध्यानमा राखेर ओलम्पिकको एथलेटिक्स र पौडीमा महिला–पुरुष गरी दुई दुई जना खेलाडीलाई कोटाका रूपमा नियमित सहभागिता जनाउने सुविधा आइओसीले दिएको छ ।
त्यसबाहेक पहिले गरेको प्रदर्शनलाई आधार मानेर दिइने सुविधा वाइल्ड कार्ड हो । वाइल्ड कार्डमा समग्रमा छुट्टाएको सङ्ख्यामा उत्कृष्ट छनोट गर्दै लिने गरिन्छ । नेपालीले ओलम्पिकमा सहभागिता जनाउँदा हदैसम्म सफलता हासिल गर्ने भनेको राष्ट्रिय कीर्तिमानमा सुधार नै हो । त्यो राष्ट्रिय कीर्तिमानसमेत कतिपय खेलाडीले तोड्न सकिरहेका हुँदैनन् ।
नेपालले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण लिन पनि पाउँछन् । खेलाडीले विभिन्न छात्रवृत्ति पाएर प्रशिक्षण लिइरहेका पनि छन् । एनओसीमा हरेक संस्करणका लागि कोटा आउने पनि गर्दछ तर त्यहाँ उनीहरूले ठूलो लक्ष्य लिएर जानुभन्दा पनि त्यही कोटाको दुरुपयोग हुने गरेका घटना यदाकदा सुन्ने गरिन्छ ।
यसप्रति वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ भने उत्कृष्ट खेलाडीलाई सुरुवातदेखि नै प्रशिक्षणमा राखेर पदकका लागि एनओसीले जोड दिने बताउँछन् । उनले भनेका छन्, “एनओसी अहिलेसम्म आन्तरिक झमेलामै अल्झियो । वैधानिकताको लडाइँ धेरै लड्यौँ । खेलका बारेमा त हामीले सोच्नै सकेनौँ । अब भने त्यो झमेलाबाट मुक्त भएका छौँ । खेलमा मात्र केन्द्रित हुने अवस्था छ । त्यसैले अन्तर्राष्ट्रिय खेलकुदमा कसरी पदक जित्न सकिन्छ भनेर हामी गम्भीर भएरै लाग्ने छौँ ।”
तर यही गतिमा भने अझै पदककै लागि आशा गर्ने ठाउँ कत्ति पनि छैन । यद्यपि एनओसीले धेरैभन्दा धेरै खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि छात्रवृत्ति बढाउने हो भने खेलाडीको आकर्षण थप बढेर खेल स्तरमा सुधार आउन सक्छ । युवामञ्च