• ९ साउन २०८१, बुधबार

पूर्वमन्त्री डा. महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण

blog

चितवन, साउन ९  गते । पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिका–१७  गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गर्नुभएको हो । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका नेतासहित उहाँले सो क्षेत्रको निरीक्षण अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्थानीयले बाढी आएर पस्नुभन्दा पहिला नै सुरक्षित गराउन माग राखेका थिए । 

महानगरपालिका–१८ का स्थानीय जीतबहादुर तामाङले यस क्षेत्रबाट बाढी पस्दा महानगरपालिकाको पश्चिम क्षेत्र डुबानमा पर्ने बताउनुभयो । नदीमा तटबन्ध गर्न सके सुरक्षित बस्न पाइने भन्दै उहाँले मझुवा सामुदायिक वन क्षेत्रबाट जुनसुकै समयमा नदी पस्न सक्ने भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “नदी पस्नुभन्दा पहिले नै यसको तटबन्ध गरिनुपर्ने हुन्छ ।”

स्थानीयको कुरा सुनी सकेपछि नेता महतले जुनसुकै समयमा पनि नदी पस्न सक्ने भन्दै यसलाई रोक्न सक्दो पहल गर्ने बताउनुभयो । निरीक्षणका क्रममा उहाँले मझुवा सामुदायिक वनबाट नदी बस्ती छिर्ने देखिएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले आफ्नो तहबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल के गर्न सकिन्छ सल्लाह गरेर अघि बढाइने बताउनुभयो । यस वनबाट नदी पसेमा महानगरपालिका–१७, १८, २७, २८ लगायतका क्षेत्रमा डुबान हुने स्थानीयले गुनासो राखेका थिए । रासस