• ९ साउन २०८१, बुधबार

पेरिस फर्कियो ओलम्पिक

blog

पेरिस ओलम्पिक–२०२४ विशेष् : सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिस तम्तयार छ । पेरिस ओलम्पिक साउन ११ देखि २७ सम्म सञ्चालन हुने छ । यस ओलम्पिकमा चार नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्ने छ ।

यस मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रने छन् । ३० हजार स्वयंसेवक परिचालन गरिने छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन् । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेल स्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन् ।

ओलम्पिकलाई खेलको पवित्र प्रतियोगिता मानिन्छ । त्यसैले खेलाडीमा ओलम्पिकमा खेल्ने ठूलो चाहना हुन्छ । इतिहास र यसको उद्देश्यले ओलम्पिकलाई गौरवशाली बनाएको छ । प्राचीनकालमा ग्रिसको एथेन्समा ओलम्पिक खेलिन्थ्यो । 

ओलम्पिकले विश्व नै खेलकुदमय हुन्छ । पछिल्लो संस्करण टोकियो ओलम्पिकमा कोभिडका कारण ओलम्पिक खेल्ने खेलाडी, समर्थक मात्र होइन जापानी जनता पनि ओलम्पिकलाई लिएर उत्साहित थिएनन् । किनभने सबैले कोरोना भाइरसको डर मनमा पालेर ओलम्पिक खेलेका थिए । यसपालि पेरिसमा ओलम्पिकको उत्साह फेरि फर्केको छ । 

ओलम्पिक खेलकुदको सफल आयोजना चानचुने कुरा होइन । विश्वका शीर्ष खेलाडीले भाग लिने ओलम्पिक आर्थिक दृष्टिकोणले पनि बोझिलो हुन्छ । सुरक्षालगायत अन्य पक्ष पनि उत्तिकै चुनौतीपूर्ण हुन्छन् । ओलम्पिक आयोजना भनेको आफ्नो देश र शहरको भव्यता र सम्पन्नता देखाउने अवसर पनि मानिन्छ । त्यसैले आयोजकले ओलम्पिक आयोजनामा पैसाको खोलो बगाउँछन् । 

पछिल्ला केही ओलम्पिकमा गरिएका खर्च हेरौँ । सन् २०१२ मा लन्डन शहरले १४.५ अर्ब अमेरिकी डलर खर्चबाट भव्य ओलम्पिक सम्भव भएको थियो । ब्राजिलको रियो डि जेनेरियाले चार वर्षपछि आयोजनाका लागि १२ अर्ब अमेरिकी डलर खर्चर गरेर लन्डन ओलम्पिकको बराबरी गर्ने प्रयास ग-यो । रियोले सात अर्ब ६० करोड डलर त भौतिक पूर्वाधार र पर्यावरणको सुरक्षामा लगानी गरेको थियो । 

रियो अत्यधिक खर्चका कारण ऋणमा डुब्यो । सन् १९७६ मा मोन्ट्रियलले पनि ओलम्पिक आयोजनामा भएको अत्यधिक खर्चकै कारण रियो जस्तै नियति बेहोरेको थियो । पछिल्लो टोकियो ओलम्पिकमा पनि १५.४ अर्ब डलर खर्च भएको थियो । 

सन् २०१७ मा पेरिसले ओलम्पिक आयोजनाको अधिकार पाउँदा छ अर्ब ६० करोड युरो बजेट छुट्याइएको थियो । अहिले पेरिस ओलम्पिक आयोजनाको आधिकारिक खर्च ९.६ अर्ब डलर रहेको छ । 

सन् १९६० यता हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको छ । पेरिस ओलम्पिकमा पनि धेरै खर्च हुने देखिएपछि समय समयमा जनताले सरकारविरुद्ध प्रदर्शन पनि गरेका थिए । फ्रान्सको नेसनल अडिटले जनताको करबाट मात्र तीन अर्ब युरो खर्च हुने बताएको छ । पेरिसले ओलम्पिकका लागि केही निर्माण परियोजना तयार भएका छन् । यद्यपि प्रतियोगिताका लागि पेरिसले मुहार त्यत्ति धेरै परिवर्तन गरेको देखिँदैन ।

ओलम्पिक आयोजनामा खर्च मात्र होइन आम्दानी पनि हुने गर्दछ । ओलम्पिकको आम्दानी भनेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को केही प्रतिशत सहयोग, टेलिभिजन प्रसारणबाट आउने अर्बौं डलर, ओलम्पिकको बहानामा भित्रिने लाखौँ पर्यटन र टिकट बिक्री नै हो । त्यसै पनि पेरिस सबैभन्दा धेरै विदेशी पर्यटक पुग्ने शहर हो । अझ ओलम्पिकको बहानामा पेरिसको वास्तुकला, कला र इतिहास हेर्न एक करोड ५० लाख १५ पर्यटन पेरिस पुग्ने अनुमान छ । 

पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत चार अर्ब मानिससे ओलम्पिक हेर्ने दाबी पनि आयोजकको छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ । 

आयोजकले यसपालि परम्परालाई तोड्नै रङ्गशालाको सट्टा पेरिसको सिन नदीको किनारामा उद्घाटन गर्ने तयारी गरिरहेको छ । जहाँ खेलाडीहरू डुङ्गाबाट पुग्ने छन् । सन् २०१७ मा पेरिसले ओलम्पिक आयोजनाको अधिकार प्राप्त गरेपछि सिन नदीको  सरसफाइ गरेर प्रदूषण हटाइएको थियो । यस नदीमा ट्रायथलन र लामो दूरीको पौडी प्रतियोगिता सञ्चालन गरिने छ । 

सन् १९२४ मा सिन नदी प्रदूषित भएपछि यहाँ प्रतियोगिता सञ्चालन गर्न सय वर्षको प्रतिबन्ध लगाइएको थियो । जुन यस वर्ष सकिएको छ । यसै गरी आइफल टावरको तल रहेको चाम्प डे मार्समा हुने बीच भलिबलमा पनि ठूलो आकर्षण हुने छ ।

पेरिससामु ठूलो चुनौती भनेको सुरक्षा हो । उद्घाटन समारोहमा ड्रोन आक्रमणको चेतावनी आइरहेको छ । जसले गर्दा सरकारले सेन नदीको किनारामा आधा दर्शक घटाइसकेको छ । सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सैनिक र ४० हजार प्रहरी परिचालन गरिने बताइएको छ । यसबाहेक अन्य देशका थप दुई हजार सैनिक र पुलिस अधिकारीहरू पनि हुने छन् ।

राजनीतिक हिसाबले फ्रान्समा अस्थिरता छ । संसदीय चुनावको चटारो पनि छ । राष्ट्रपति माकरनले चुनाव जुन ३० र जुलाई ७ मा गर्ने घोषणा गरिसकेका छन् तर आइओसीले यसको प्रभाव ओलम्पिकमा नपर्ने बताइसकेको छ । 

यसै गरी रुस र युक्रेन युद्धले पनि ओलम्पिकमा प्रभाव पार्ने सम्भावना देखिन्छ । रुस र बेलारुसले ओलम्पिकमा सहभागिता जनाउने छैनन् । यद्यपि आइओसीले तटस्थ खेलाडीका रूपमा रुसी र बेलारुसका खेलाडीलाई पेरिस ओलम्पिकमा आमन्त्रण गरेको छ तर यसको विरोधमा केही खेलाडीले सहभागिता नजनाउने निर्णय गरेका छन् । 

पेरिसमा अत्यधिक गर्मी पनि चुनौती हुने छ । गर्मीका कारण खेलाडीको स्वास्थ्यमा असर पर्न सक्छ । पेरिसमा जुलाई–अगस्तमा तापक्रम ३४ डिग्री हुने गर्दछ । यसै गरी आद्र्रता ७० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यसबाहेक विश्वका देखिएको लैङ्गिक विवाद, आर्थिक असमानताको मुद्दा, जातीय तनाव, अश्वेतमाथिको थिचोमिचो र युक्रेन र प्यालेस्टाइनमा मानवताविरोधी गतिविधि पनि पेरिस ओलम्पिकका चुनौती हुन सक्छन् । युवामञ्च

Author

प्रजित शाक्य