• ८ साउन २०८१, मङ्गलबार

कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ

blog

ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।

काठमाडौँ, साउन ८ गते। ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताउनुभएको छ।

मंगलबार निर्माण व्यवसायी महासङ्घको छलफलमा ऊर्जामन्त्री खड्काले यस्तो बताउनुभएको हो। उहाँले निर्माण व्यवसायीको भुक्तानीको समस्यालाई सरकारले चाँडै सम्बोधन गर्नेगरी काम गरिरहेको बताउनुभयो। 

उहाँले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउँदै जाने उल्लेख गर्नुभयो। उहाँले सार्वजनिक खरिद ऐनमा पनि समस्या रहेकाले निर्माण व्यवसायीले ठेक्का हाल्ने र त्यसैले पाउने भएकाले समयमा र गुणस्तरीय काम हुन नसकेको बताउनुभयो। 

उहाँले ठुला निर्माण कम्पनीले ठेक्का लिने अनि पेटी ठेकेदारबाट १० प्रतिशत कमिसन राख्दै काम दिने प्रवृत्ति रहेको बताउनुभयो। उहाँले सरकार र निर्माण व्यवसायी मिलेर नै यस्तो प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो। 

उहाँले जसले ठेक्का लिएको उसैलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो। उहाँले निर्माण क्षेत्रमा भएका समस्याको निर्माण व्यवसायी र सरकार मिलेर समाधान गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले निजी क्षेत्र बिना मुलुकको विकास सम्भव नभएको बताउनुभयो। उहाँले स्थिर सरकार बनेकाले सबैले बधाई भन्नेगरी काम गर्ने इच्छा रहेको बताउनुभयो।  

उहाँले भन्नुभयो, ‘‘निर्माण व्यवसायीको भुक्तानीको विषयमा दैनिक छलफल भइरहेको छ। अर्थमन्त्री त्यसैमा लाग्नुभएको छ। निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउँदै जानुहुन्छ। तर निर्माण व्यवसायीले पनि कममा ठेक्का हाल्ने कानुनको समस्या होला। जसले कममा हाल्यो त्यसलाई दिनुपर्ने छ। जसले कममा हाल्यो त्यसले गुणस्तर बनाउन सक्दैन। अर्को ठुला निर्माण कम्पनीले ठेक्का लिने अनि पेटी ठेकदारमा १० प्रतिशत कमिसन राख्ने फेरि उसले पनि अर्कोलाई दिने प्रवृत्ति छ। यो प्रवृत्तिको अन्त्य गर्नुपर्छ। जसले लिएको छ त्यसैलाई जिम्मेवार बनाउनुपर्छ।’’

निर्माण व्यवसायीले ऊर्जा मन्त्रीलाई निर्माण व्यवसायीको रकम भुक्तानीको लागि रकमान्तर नहुने गरी सहजीकरण गर्न माग गरेका छन्। व्यवसायीले निर्माण क्षेत्रको भुक्तानीको लागि जिम्मेवार मन्त्रालयका सचिवलाई नै जिम्मेवारी दिन आवश्यक रहेको बताए।