• ८ साउन २०८१, मङ्गलबार

कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने

blog

मंगलबार प्रतिनिधि सभामा धारणा राख्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल।

काठमाडौँ, साउन ८ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो। 

अर्थमन्त्री पौडेलले अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताउनुभयो। उहाँले निष्क्रिय रूपमा रहेको चलसम्पत्ति समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो। 

उहाँले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई विस्तार गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘यो ऐनबाट हुने लाभ भनेको अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा सम्मान ढङ्गले पहुँच विस्तार गर्नसक्छ। निष्क्रिय रूपमा रहेको चलसम्पत्ति समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ। मुलुकमा आर्थिक कारोबारलाई विस्तार गर्न सकिन्छ। यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्नसक्छौं। चल सम्पत्तिलाई धितो मानेर कारोबार गर्ने अभ्यास गर्दै आएका छौँ। एउटा समयमा शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउन सक्ने व्यवस्था पनि गरौँ। यसलाई पनि कानुन सर्वतः तरिकाले कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुनेछ।’’

उहाँले चल सम्पत्तिलाई धितो मानेर कारोबार गर्ने अभ्यास भए पनि केही समयअघि शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउनसक्ने व्यवस्थालाई कानुन रूपमा कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुने विश्वास रहेको उल्लेख गर्नुभयो।