• ८ साउन २०८१, मङ्गलबार

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह

blog

तस्बिर : रासस

काठमाडौँ, साउन ८ गते । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहसहितको टोलीले गरेको भेटमा उहाँले आफू निर्माण व्यवसायीका समस्याबारे जानकार रहेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“विकास निर्माणमा व्यवसायीको भूमिकालाई मैले राम्रोसँग बुझेको छु, समस्या समाधानका लागि मैले प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भुक्तानी नपाएको बताउनुभयो । 

उहाँले सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा पनि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाउनुभएको थियो । “हामीले उपप्रधानमन्त्रीज्यूसमक्ष आफ्ना माग राख्यौँ, हाम्रो समस्यामा उपप्रधानमन्त्रीज्यू सकारात्मक देखिनुभएको छ”, उहाँले भन्नुभयो । सो अवसरमा महासङ्घले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएको थियो । रासस