• ७ साउन २०८१, सोमबार

न्यूरोड फुटपाथ विस्तारमा अध्ययन प्रतिवेदन बनाइने

blog

न्यूरोड सडकमा तत्काल फुटपाथ नबनाउने विषयमा महानगरपालिका र स्थानीय सरोकारवालाबिच भएको सहमतिपछि गरिएको प्रदर्शन । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । काठमाडौँ महानगरपालिका अन्तर्गतको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ । वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको बैठकमा नगर योजना आयोग (सीपीसी) का उपाध्यक्ष सुमन राजभण्डारीको संयोजकत्वमा वडा नं २२, २३ र २४ का वडाध्यक्षहरू सदस्य रहने गरी सहमति गरिएको हो । 

यस क्षेत्रको भूगोल, सामाजिक, आर्थिक अवस्थाको जानकारी राख्ने अगुवाको सहभागितामा अध्ययन प्रतिवेदन तयार गरिने अध्यक्ष चिनिकाजी महर्जनले बताउनुभयो ।  फुटपाथ विस्तारको काम मङ्सिर २ गतेसम्म स्थगित भएको उहाँको भनाइ छ । उहाँले अध्ययन प्रतिवेदन बनाउने सहमतिले विकासको कार्य जनभावनाअनुरूप गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सहमतिभन्दा पनि जनताको जीत हो । सामान्यतया, कुनै पनि विकासको काम कसरी गर्नुपर्छ भन्ने कुराको सिकाइ स्थापित भएको छ । जनताले मागेको, जनतालाई आवश्यकता नभएको कुनै पनि थोपर्ने खालको विकास जनताले अस्वीकार गरेको छ” उहाँले आगामी दिनमा सोही अध्ययन प्रतिवेदनअनुरूप अगाडि बढ्ने बताउनुभयो ।