• ७ साउन २०८१, सोमबार

सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

blog

काठमाडौँ, साउन ७ गते । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।

गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपद् मोचन बल-नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्तरुपमा उद्धार जारी राखेको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी कार्य सुरु भएको जानकारी दिनुभयो ।

आइतबार बिहान ८:४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजेको थियो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ । 

उक्त दुःखद घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भई परिवारको जिम्मा लगाइएको छ । सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने दुई वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकका रहेको प्राधिकरणले जनाएको छ । रासस