• ७ साउन २०८१, सोमबार

सुरक्षा प्रमुखहरूसँग मुख्यमन्त्रीको परामर्श

blog

मुख्यमन्त्री यामलाल कँडेलले आयोजना गर्नुभएको सुरक्षा प्रमुखविचको छलफल ।

ललित बसेल

सुर्खेत, साउन ७ गते । कर्णाली प्रदेशमा विपद्का घटनाहरू बढेपछि मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग जुम बैठक गर्नुभएको छ । 

बैठकबाट बर्षातका कारण दैनिक विपद्का घटना बढ्न थालेपछि चिन्ता व्यक्त गर्दै उहाँले जिल्लाको वस्तुस्थिति जानकारी लिनुका साथै विपद् न्यूनीकरणमा प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा आवश्यक परामर्श लिनुभएको हो । 

बैठकमा मुख्यमन्त्री कँडेलले विपद् जोखिमको हिसाबले सबैभन्दा बढी जोखिमयुक्त प्रदेश भएकाले विपद् न्यूनीकरणमा अन्यत्रभन्दा कर्णाली प्रदेशमा धेरै मेहनत र लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले भौगोलिक विकटता र स्रोतसाधनको अभावका कारण पनि जिल्ला तहका सुरक्षा निकायले उत्कृष्ट काम गरिरहेको भन्दै त्यसका लागि सबैलाई धन्यवाद दिनुभयो । 

तीन तहका सरकारका आफ्नै सीमा र दायित्व भए पनि विपद्का घटनाका कारण त्यसले तल्लो तह प्रभावित हुने भएकाले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बढी परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।  

विकासका कारण निम्तिएका कतिपय विन्यासले कर्णाली प्रदेशमा विपद् जोखिम बढ्दै गएकोमा मुख्यमन्त्री कँडेलले चिन्ता व्यक्त गर्नुभयो । उहाँले अब विकासको मोडेल बारेमा पनि जिल्लाका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाबिच छलफल चलाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, ‘जिल्लामा कस्तो खालको विकासको मोडेल आवश्यकता हो, तपाईँहरूले पनि आफ्नो मातहतका कार्यालयहरूबिच छलफल चलाउन मैले आवश्यकता ठानेको छु ।’

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरैजसो लाभग्राहीले अझै पनि दोस्रो किस्ताको रकम पाउन नसकेको विषयप्रति पनि चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले त्यसतर्फ आफ्नो ध्यान जाने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीबाट आएको सुझावहरूप्रति सङ्केत गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विपद् व्यवस्थापन विषयमा आफ्नो तर्फबाट समन्वय गरिरहेको र सरकारको तर्फबाट दायित्व वहन गर्नुपर्ने विषयहरूमा आफ्ना संरचनालाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो ।

बैठकमा प्रदेशका चार वटै सुरक्षा निकायहरू नेपाली सेना उत्तर पश्चिम पृतनापति अनुपजंग थापा, नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डिआइजी अर्जुनबहादुर चन्द, सशस्त्र प्रहरी बल महेश्वरी वाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्णाली प्रदेश प्रमुख माधव तिमिल्सेनाले मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको थियो ।