• ७ साउन २०८१, सोमबार

‘पुष्पलालले बनाएको राजमार्गका हिँड्दै छौँ’

blog

नेकपा (एमाले) कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ७ गते । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले बनाएको वैचारिक राजमार्गमा अहिले नेपाल अघि बढेको बताउनुभएको छ । 

श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा सोमबार एमाले कास्की जिल्ला कमिटीले अहिलेको सन्दर्भमा पुष्पलालको विचार विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले नेपालका सबै कम्युनिस्टहरू हिँड्ने बाटो पुष्पलालले नै तयार गरेको बताउनुभयो । 

उहाँले पुष्पलाललाई दूरदर्शी, स्वाभिमानी र इमान्दार राजनेताका रूपमा उहाँले स्मरण गर्नुभयो । तत्कालीन अवस्थामा निरङ्कुश जहानियाँ राणा शासनको अन्त्यसहित समाजवाद स्थापना गर्न वि.सं. २००६ मा नेकपा स्थापना भएको थियो । 

पुष्पलालले नयाँ जनवादी क्रान्तिको कार्यक्रम ल्याउने मात्र नभई नेपाल क्रान्तिको मार्गदर्शन गरेको उहाँको ठम्याइ छ । तत्कालीन कांग्रेसको केन्द्रीय कार्यालय सचिव बन्नुभएका उहाँले पछि कांग्रेस छाडेर नेकपा स्थापना गर्नुभएको थियो । 

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुष्पलालले देखाएको बाटोको सही अनुसरण गरी मदन भण्डारीले नेपाली मोडेलको क्रान्तिको बाटो बनाएको बताउनुभयो । पार्टीमा गुटबन्दी हुन नहुने जनाउँदै उहाँले थप्नुभयो, “नेकपा स्थापनापछि पुष्पलालको कार्य क्षेत्र गण्डकी थियो । पार्टीको पक्षमा लाग्नु, कुनै गुटमा नलाग्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हो ।”

वि.सं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । 

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य थममाया थापा, एमाले गण्डकी अध्यक्ष नवराज शर्मालगायतले पुष्पलालको योगदान र अहिलेको कम्युनिष्ट पार्टीबारे धारणा राख्नुभएको थियो ।