• ७ साउन २०८१, सोमबार

वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’

blog

वरिष्ठ पत्रकार भैरव रिसाल ।

काठमाडौँ, साउन ७ गते । रोटरी इन्टरनेशनलले यस वर्षको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको छ । रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा क्लबका पदाधिकारीले रिसाल निवास अनामनगर पुगी अवार्ड प्रदान गर्नुभएको हो । 

पुरस्कारको राशि एक लाख एक हजार र सम्मानपत्र छ । अवार्ड ग्रहण गर्नुहुँदै पत्रकार रिसालले पछिल्लो समय पत्रकारिताको मूल्य, मान्यता र आदर्श खस्किएको धारणा राख्नुभयो । उहाँले आजको अवस्थामा पत्रकारिताको उच्च व्यावसायिक अभ्यासमार्फत राष्ट्र र जनताका खारित आवाज बुलन्द हुनुपर्नेमा जोड दिनुभयो । अवार्डले आफूलाई सक्रिय जीवनका लागि थप ऊर्जा र प्रेरणा मिलेको पनि रिसालले बताउनुभयो ।

रोटरी जर्नो अवार्ड समितिका निमित्त अध्यक्ष नम्रता शर्माले पत्रकारिताको माध्यमबाट राष्ट्रका लागि गर्नुभएको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताउनुभयो । वातावरण, शिक्षालगायत क्षेत्रका सात विधामा अवार्ड दिँदै आएको रोटरीले यसवर्षदेखि पत्रकारितामार्फत देश र समाजका लागि योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने परम्पराको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।

पुरस्कारका लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को संस्थापकसमेत रहनुभएका सुरेश आचार्यले वरिष्ठ पत्रकार भैरव रिसालले जीवनभर पत्रकारितामार्फत योगदान दिनुभएकाले उहाँको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताउनुभयो । उहाँले वरिष्ठ व्यक्तित्वलाई अवार्ड प्रदान गर्न पाउँदा पुरस्कारको ओज बढेको बताउनुभयो ।

आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा एक लाख एक हजार कोषमा प्रदान गर्नुभएको छ । सोही रकमबाट ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो । पुरस्कार यसै वर्षदेखि हरेक दुई वर्षमा प्रदान गरिने बताइएको छ । रासस