• ७ साउन २०८१, सोमबार

सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

blog

स्याङ्जा जिल्ला अदालत । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, साउन ७ गते ।
 स्याङ्जा जिल्ला अदालतमा २०८०/८१ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

अदालतमा नयाँ दर्ता भएका ९५२ मुद्दामध्ये ४६५ सम्बन्ध विच्छेद र ८५ वैवाहिक सम्बन्ध विच्छेद गरी ५५० मुद्दा रहेका छन् । अदालतमा दर्ता भएका मुद्दामध्ये ५७ प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् ।

अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले सम्बन्ध विच्छेदका मुद्दामा महिलावादी ४४२ र पुरुषवादी भएका १०८ वटा रहेको बताउनुभयो ।

पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ५४८ र वैवाहिक सम्बन्ध विच्छेद ९४ रहेकोमा अब १०२ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।

सम्बन्ध विच्छेद वैदेशिक रोजगार र प्रविधिको नकारात्मक प्रभावले बढेको शर्माको भनाइ छ ।

सामाजिक सञ्जालको गलत प्रयोग, सामाजिक मानसिकता, मादक पदार्थको सेवन, शैक्षिक तथा आर्थिक स्तर, सन्तान नहुने अन्य कारण रहेका छन् । 

अदालतमा दर्ता भएका मुद्दामा ७१ वटा अंश मानाचामल, ३३ वटा लेनदेन, चेक अनार ३२ वटा, लिखत बदर ३१ वटा, चार घरेलु हिंसा, जालसाजी ४५ वटा, जबरजस्ती करणी १६, बहुविवाह पाँच वटा, किर्ते एक वटा, १० वटा सवारी ज्यान, लागूऔषध १४ वटा, चोरी ३२ वटा मुद्दा दर्ता भएका हुन् ।

पुरानो जिम्मेवारी र नयाँसहित एक हजार ३५५ मुद्दा रहेकोमा एक हजार चार अर्थात् ७४ प्रतिशत मुद्दा फर्छ्योट भएको शर्माले बताउनुभयो ।