• ७ साउन २०८१, सोमबार

बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

blog

ढाका, साउन ७ गते । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ ।

प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताउनुभयो । पक्राउ परेकामध्ये केही बङ्गलादेश नेशनल पार्टी (बीएनपी) नेताहरू रहेको उहाँले जनाउनुभएको छ ।

पक्राउ पर्नेमा बिएनपीका नेता अमिर खुसरो, महमुद चौधरी र प्रवक्ता रुहुल कबिर रिजवी अहमदसहित पूर्व राष्ट्रिय फुटबल कप्तान तथा नेता अमिनुल हकलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभएको छ ।

इस्लामवादी पार्टी जमात–ए–इस्लामिकी महासचिव मिया गुलाम परवरलाई पनि पक्राउ गरिएको हुसेनले जानकारी दिनुभयो ।

उहाँले राजधानीमा अशान्तिका क्रममा कम्तीमा तीन जना प्रहरीले ज्यान गुमाएको बताउँदै करिब एक हजार घाइते भएको र घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गर्नुभएको छ ।

बिएनपीका प्रवक्ता एके वाहिदुज्जमानले राष्ट्रव्यापी रूपमा ‘विगत केही दिनमा सयौं बिपिएनका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको बताउनुभएको छ । रासस/एएफपी