• ७ साउन २०८१, सोमबार

किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ७ गते । छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभयो । 

सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयीकरण हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । यसबाट वातावरणीय समस्या बढ्दै गएको तथा पानीको स्रोत सुक्दै गएकाले त्यसप्रति गम्भीर बन्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले गाउँबस्ती कटान र डुबानले प्रभावित भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सांसद शेखरकुमार सिंहले मधेश-प्रदेशको संस्कृति संरक्षण गर्न आवश्यक भएको उल्लेख गर्नुभयो । यसले पर्यटकलाई आकर्षण गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । सांसद कृष्णप्रसाद अधिकारीले खस्कँदो अर्थतन्त्रमा सुधार ल्याउन सुझाव दिनुभयो । सांसद विष्णुकुमारी सापकोटाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर स्वदेशमै स्थानीय तहबाट नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । रासस