• ७ साउन २०८१, सोमबार

इजरायलद्वारा गाजाका मानवीय क्षेत्र खाली गर्न आदेश

blog

डेरअल (गाजा), साउन ७ गते । इजरायली सेनाले सोमबार गाजापट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ ।

दक्षिणी गाजापट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हमास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ ।

इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन् ।

यस महिनाको सुरुमा इजरायलले कम्तीमा १.८ मिलियन प्यालेस्टिनीहरू अहिले भूमध्यसागरको १४ किलोमिटर मानवीय क्षेत्रमा रहेको घोषणा गरेको थियो । राष्ट्रसङ्घ तथा मानवतावादी समूहका अनुसार त्यस क्षेत्रको धेरैजसो भाग हाल सरसफाइ र चिकित्सा सुविधाविहीन शिविरले भरिएको छ । 

गाजा युद्धविरामको माग गर्दै वार्ताको क्रममा अमेरिका र इजरायली अधिकारीले सम्झौता पहिलेभन्दा नजिक रहेको घोषणा गरिएको थियो ।

बिहीबार वार्ताको लागि टोली पठाइने नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्ट, कतार र अमेरिकाले इजरायल र हमासलाई चरणबद्ध युद्धविराम सम्झौताका लागि दबाब दिइरहेका छन् ।

गाजा युद्धले ३८ हजारभन्दा बढी मानिसको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले  जनाएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणबाट सुरु भएको युद्धमा  अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिएभने २५० जना बन्धक बनाइएका थिए ।

इजरायली सेनाले सोमबार मध्य र दक्षिणी गाजामा कारबाही जारी राखेको बताएको छ । आइतबार गाजामा इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा १५  जनाको मृत्यु भएको अस्पतालमा अधिकारीहरूले जनाएका छन् ।

घेराबन्दीले गाजामा  खतरनाक मानवीय अवस्था सिर्जना गरेको छ  भने यस क्षेत्रका २३ लाख मानिसका लागि पानी र सरसफाइ सेवा अभाव छ ।

नेतान्याहूले हमासको सैन्य र शासकीय क्षमताहरू समाप्त गरी बाँकी बन्धकको सुरक्षित फिर्ता गर्ने वाचा गर्नुभएको छ । रासस/एपी