• ७ साउन २०८१, सोमबार

‘कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा राजनीति सङ्लिन्छ’

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

शशिधर पराजुली

विराटनगर, साउन ७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीति सङ्लो बन्ने बताउनुभएको छ । 

पुष्पलाल स्मारक समिति विराटनगरले सोमबार आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र सङ्घर्षकै कारण राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभयो । वामपन्थी र प्रजातान्त्रिक पार्टी मिलेर निरङ्कुशता ढाल्नुपर्छ भन्ने विचार पुष्पलालको भएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसकै जगमा २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको जनआन्दोलन सफल बनेको बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु समयको आवश्यक्ता भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्ल्याउँदै लैजान योगदान गर्ने बताउनुभयो । 

कार्यक्रममा १०१ वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बूलाई १० हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरिएको थियो । 

प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल, तृतीय हुने विराटनगरका रीता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरु सुनसरीका युवराज दाहाल र विराटनगरका लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार प्रदान गरिएको थियो ।