• ७ साउन २०८१, सोमबार

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी पाठ्यक्रम तयार पार्नुस्’

blog

काठमाडौँ, साउन ७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर एमडी, एमएस, एमएसीको पाठ्यक्रम निमार्ण गर्न आयोजीत दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै  मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

कार्यक्षमता विकास गर्न सक्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने गरी पाठ्यक्रम निर्माण गर्न मन्त्री निर्देशन दिनुभयो ।


साथै उहाँले राज्यको थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्नुपर्ने भएकाले संस्थाको विकास व्यवस्थित ढङ्गले कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ संस्था खोल्न निकै गाह्रो छ । भएका सङ्ख्याहरुको गुणस्तर नघटाई क्षमता वृद्धि गरेर लैजान उपयुक्त हुने भएकाले संस्थालाई व्यवस्थित ढङ्गले लैजानुस् ।”

सरकारी प्रतिष्ठान आफैँले पनि विदेशी विद्यार्थी कसरी ल्याउने भन्नेतर्फ ध्यान दिन उहाँले आग्रह दिनुभयो ।

त्यस्तै मन्त्रालयका सचिव रोशन पोखरेले संसारमा बिक्ने पाठ्यक्रम निर्माण गर्न निर्देशन दिनुभयो ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अन्जनीकुमार झाले नक्कल नगरी अध्यायन अनुसन्धान गरेर देशलाई आवश्यक पर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा  प्रतिस्पर्धा गर्न सक्ने पाठ्यक्रम निर्माण गर्न आग्रह गर्नुभयो ।

राजनीतिक नियुक्ति रोक्न आग्रह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी डा.मङ्गल रावलले राजनीतिक नियुक्ति रोक्न आग्रह गर्नुभएको छ ।

उहाँले कार्यक्रममा आफूले भोगेका भोगाइ सुनाउनुहुँदै मन्त्री पौडेललाई देशभरिका प्रतिष्ठानको राजनीतिक नियुक्ति रोक्न आग्रह गर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, “हुन त म पनि आफैँ पनि राजनीतिक नियुक्ति भएकाे हुँ । मन्त्रीज्यूले प्रतिष्ठानका लागि केही गर्न चाहनुहुन्छ भने राजनीतिक नियुक्ति बन्द गर्नुस् । राजनीतिक नियुक्तिबाट भएकाले राम्रो काम गरेपनि सरकार परिवर्तन हुनासाथ त्यो व्यक्तिलाई दुःख दिने परिपाटी बढी छ ।”

उहाँले देशभरका प्रतिष्ठानमा चैत महिनाबाट पाँचवटा प्रतिष्ठानका भिसी पद खाली हुने जानकारी दिनुभयो ।