• १२ साउन २०८१, शनिबार

बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

blog

सुनसरीमा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको कोशी ब्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, साउन ७ गते गते । सुनसरीका विभिन्न स्थानमा रहेका शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ । साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको  भगवान शिवको पूजापाठ तथा सोमबार उपवास बस्नेहरुले नदी तथा जलाशयबाट जल ल्याएर अर्पण गर्ने गरी बोलबम सुरु भएको छ । 

जिल्लामा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको चतरा, राजाबास र कोशी ब्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड लागेको छ । हजारौंको सङ्ख्यामा बोलबम जाने भक्तजनले स्नान गर्ने र जल लिएर आ आफ्नो क्षेत्रको शिवालयमा जानेहरु एकसाथ आएकाले कोशी नदीमा जल भर्नेहरुको भिड बढेको हो । सप्तरीको बलुवासहितको क्षेत्र र सुनसरीको भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकाको रामनगर भुटाहा विशाल मिथिलेश्वर बाबाधाममा जल अर्पण गर्नका लागि बोलबमका भक्तजन एकसाथ कोशी नदीमा आएकाले जल भर्नेहरुको भिड बढेको कोशी ८ भाण्टाबारीका देवराज यादवले जानकारी दिनुभयो । 

त्यसैगरी इनरुवा ९ बबियाको शिवशक्ति मन्दिर र शिव मन्दिरमा समेत सोमबारबाट बोलबम सुरु भएको मन्दिर समितिका अध्यक्ष जोगिन्द्र शर्माले जानकारी दिनुभयो । हजारौं भक्तजनले कोशी नदीमा जल भरेर मन्दिरमा जल अर्पण गरेको बताउनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका सुरेन्द्र मेहताका अनुसार श्रावणको पहिलो सोमबार गाउँठाउँका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुले बिहानैदेखि जल अर्पण गरिरहेकाले भिड बढेको छ । 


भोक्राहा नरसिंह २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरमा पनि सप्तकोशी नदीको राजाबास घाटबाट जल भरी श्रद्धालु भक्तजनले जलेश्वर मन्दिरमा जल अर्पण गरेका छन् । श्रावण महिना भगवान शिवको प्रिय महिनाको रुपमा मानिन्छ । जानकारहरुका अनुसार समुद्र मन्थनबाट निस्केको विष भगवान शिवले पिएका थिए । 

विष पिएपछि शिवको जिउबाट विषको लहर उत्पन्न भएको थियो । शिवको जिउबाट उत्पन्न भएको विषको लहर साउनको जल अर्पण गर्नाले घर परिवारमा दुःख, कष्ट , रोगव्याधि  र आकस्मिक मृत्युबाट जोगिनुका साथै व्यक्ति तथा परिवारमा सुख, समृद्धि  आउने धार्मिक विश्वास छ । श्रावण महिनामा भगवान् शिवलाई  जल, तिल, हल्दी, दूध, बेलपत्र, धतुरो, गाँजा, घिउलगायत शिवलिङ्गमा अर्पण गर्नाले भगवान शिव प्रसन्न हुने पनि धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।