• ७ साउन २०८१, सोमबार

बढ्दै मानव–वन्यजन्तु द्वन्द्व

blog

घोराही समाचारदाता

घोराही, साउन ७ गते । दाङको लमही नगरपालिका–६, देउपुर निवासी ४६ वर्षीय सहरी घर्ती गएकोे असार २७ गते भालुको आक्रमणमा पर्नुभयो ।   छिमेकीसँग जङ्गलमा च्याउ खोज्न जाँदा घर्तीलाई भालुले आक्रमण गरेको थियो । 

भालुको आक्रमणबाट अनुहारमा गहिरो चोट लाग्नुका साथै उहाँको हात भाँचियो । भालुको आक्रमणमा परेर घाइते हुनुभएकी घर्तीलाई सशस्त्र प्रहरी बल ४१ नम्बर गण अर्जुनखोलाबाट खटिएको टोलीले उद्धार गरेर लमही अस्पताल लगेको थियो । घाइते घर्तीको अहिले उपचार भइरहेको छ ।

त्यसै गरी असार २४ गते तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएको समयमा तीन जना महिलालाई बाघले आक्रमण ग-यो । बाघको आव्रmमणबाट तुलसीपुर उपमहानगरपालिका–९, बेलुवा निवासी ४५ वर्षीय कमला केसी, ५३ वर्षीय सीताकुमारी भण्डारी र १८ वर्षीय सरिता भण्डारी आक्रमणमा परेर घाइते हुनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको थियो । 

यी दुई प्रतिनिधिमूलक घटना भए पनि पछिल्लो समय जिल्लामा जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ । जङ्गली जनावर आहाराको खोजीमा वनमा ओहोरदोहोर गर्ने समयमा स्थानीय व्यक्ति जङ्गली जनावरको आक्रमणमा पर्ने गरेका छन् । त्यसैले जङ्गलभित्र जथाभाबी प्रवेश नगर्न डिभिजन वन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

अहिलेको समयमा भालु वनजङ्गलमा बच्चासँग हुने भएकाले आव्रmमण गर्ने बढी डर हुने भएकाले वनजङ्गलमा जाँदा सावधानी अपनाउनुपर्ने डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठ बताउनुहुन्छ । 

अत्यावश्यक कामबाहेक अन्य समयमा जङ्गलमा नजान सर्वसाधारणलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “जङ्गलमा सकेसम्म एक्लै प्रवेश नगरौँ, प्रवेश गर्दा सतर्कता अपनाएर मात्र पर्ने गरौँ ।” 

खासगरी देउखुरीको वन क्षेत्र भालु, चितुवा, पाटेबाघ, हुँडारलगायतका वन्यजन्तुको वासस्थान भएकाले सावधानी अपनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । डिभिजन वन कार्यालय देउखुरीका अनुसार चितुवाको आक्रमणका घटना धेरै भएका छन् । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा एक/एक वटा घटना भएका थिए भने आव २०८०/८१ मा मात्रै चार वटा घटनाका पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय दाङका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभएको छ । चितुवाको आक्रमणले गर्दा घरपालुवा जनावरमा समेत क्षति हुने गरेको छ । 

प्रमुख क्षेत्रीका अनुसार आव २०८०/८१ म चितुवाको आक्रमणबाट लमही नगरपालिका–३ निवासी सुकराम कुमालले पालेका पाँच वटा बाख्रा मरेका थिए । राहत समितिले ४८ हजार छ सय रुपियाँ उपलब्ध गराउने निर्णय ग-यो । 

यस्तै लमही नगरपालिका–१ निवासी वसन्तराज अधिकारीले पालेका १७ वटा बाख्रा चितुवाको आक्रणमा परेर मरेका थिए । सोबापत एक लाख ७० हजार रुपियाँ राहत उपलब्ध गराएको थियो । त्यसै गरी गढवा गाउँपालिका–५ निवासी छुकु चौधरीले पालेका पाँच वटा भेडा मरेकाले ६० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसै गरी तुलसीपुर उपमहानगरपालिका–८, कटकुइँयामा चित्तलको आक्रमणबाट यही साउन १ गते १२ वटा बङ्गुर मरेका थिए ।