• ७ साउन २०८१, सोमबार

‘विकास र समृद्धिका लागि सहकार्य’

blog

गाईघाट समाचारदाता

बसाहा (उदयपुर), साउन ७ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा स्थिर सरकार निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबिच सत्ता सहकार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा आयोजित बृहत् पार्टी प्रवेश कार्यव्रmमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचनपछि मुलुकमा पटक पटक सरकार परिवर्तन हुँदा अस्थिरता बढेका कारण ठुलो क्षति पुगेकाले एमालेले आफ्नो मूल प्रतिस्पर्धी पार्टी कांग्रेससँगै सहकार्य गर्न बाध्य भएको तर्क गर्नुभयो । 

उहाँले नेकपा (एमाले) जनताको विश्वासका आधारमा सरकारमा जाने भएकाले जुनसुकै पार्टीसँग सहकार्य गरे पनि मुलुकलाई विकास र समृद्धिमा लैजाने गरी सहकार्य गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आफूहरूले कांग्रेससँग बाँकी कार्यकाल सत्ता सहकार्य गरेको भए पनि चुनावमा गठबन्धन नभई स्वच्छ प्रतिस्पर्धा हुनेसमेत बताउनुभयो । मुख्यमन्त्री कार्कीले एमाले सधैँ मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकाले पनि कांग्रेससँंग सहकार्य गर्न पुगेको बताउनुभयो । उहाँले केन्द्रीय सत्ता समीकरण अनुरूप नै कोशी प्रदेश सरकार पनि केही दिनभित्रै पुनर्गठन गरिने स्पष्ट पार्नुभयो । 

मुख्यमन्त्री कार्कीले उदयपुरको विकास निर्माणमा कोशी प्रदेश सरकारबाट कुनै पनि कन्जुस्याइँ नगरी आमजनताले प्रत्यक्ष लाभ पाउन सक्ने खालका योजना सञ्चालन गर्न स्थानीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले सधैंँभरि सत्ताको खिचातानी हुने तर मुलुकको विकास र समृद्धि नहुने अवस्था आइरहने भएकाले आवश्यकता अनुसार दलीय सहमतिका आधारमा संविधानसमेत संशोधन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

शनिबार नेकपा (एमाले) चौदण्डीगढी नगर कमिटीको आयोजना भएको बृहत् पार्टी प्रवेश कार्यव्रmममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टी परित्याग गरी १६२ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।