• ७ साउन २०८१, सोमबार

‘कटुवाल’ प्रथा अझै कायम

blog

भुमे गाउँपालिका–४, काँडागाउँका कटुवाल सूचना प्रवाह गर्दै ।तस्बिर : जयमान बुढामगर

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, साउन ७ गते  । समाजमा अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास भइरहेका बेला रुकुमपूर्वमा भने पुरानै प्रथा कटुवाल प्रथा अझै कायम रहेको छ । आधुनिक सूचना प्रविधिको रूपमा रहेको टेलिफोन, इन्टरनेट र विद्युत्को भरपर्दाे पहुँचमा नभएका गाउँठाउँमा सूचना आदानप्रदानका लागि कटुवाल राख्ने स्वाभाविक मानिन्छ होला तर आधुनिक सञ्चार प्रविधिको पहुँचमा भएका गाउँठाउँमा समेत अहिलेसम्म पनि गाउँको सूचना आदानप्रदानका लागि कटुवाल राख्ने चलन कायमै छ । 

रुकुमपूर्वको भुमे, सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा सूचना कटुवालमार्फत गाउँको अग्लो डाँडामा गएर सबैले सुन्ने गरी सूचना प्रदान गर्ने काम अहिले पनि भइरहेको छ । 

तीन गाउँपालिकाकै ग्रामीण बस्तीका हरेक गाउँमा सूचना प्रवाहका लागि गाउँ प्रवक्ताका रूपमा कटुवाल राखिएको छ । भुमे–३, झुम्लाबाङका मनप्रसाद सुनारले ठुलो स्वरमा कराउँदै सूचना बोल्ने गरेको छ । आफू बोल्न थालेपछि गाउँका सबै गाउँले कान ठाडो पार्दै ध्यानपूर्वक बोलेको कुरा सुन्ने गरेको उहाँले बताउनुभयो । 

सुनारले भन्नुभयो, “प्रविधिको माध्यमबाट सूचना दिने व्रmम बढे पनि हाम्रो गाउँमा हुने विभिन्न बैठकमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले खबर गर्नु पर्छ । त्यही नै हो हाम्रो गाउँको आधिकारिक सूचना ।” 

गाउँको रीतिथिति अनुसार सामुदायिक वन रोक्का र फुकुवा, गाईभैँसी लेकमा लैजाने, बेँसीमा राख्ने, गाउँमा बिग्रेका सार्वजनिक स्थल निर्माण तथा मर्मतलगायतका काम तथा घटनाका खबर कटुवालले गाउँलेलाई खबर दिने गरेको भुमे गाउँपालिका–३ को आधारभूत विद्यालय झुम्लाबाङका प्रधानाध्यापक होमजङ्ग रानामगरले बताउनुभयो । 

पुर्खाको पालादेखि कटुवाल प्रथाको चलन चल्दै आएको र गाउँमा कटुवाल कराएरै खबर पु¥याउने गरेको रानामगरले जानकारी दिनुभयो । गाउँ समाजका लागि हुने जुनसुकै कामका लागि कटुवालले स्थानीय बासिन्दाका लागि सूचना दिने गरेको भुमे–३ का वडाध्यक्ष पर्शुराम बुढामगरले बताउनुभयो । हाम्रो जिल्लामा रहेका ग्रामीण बस्तीको प्रवक्ता भनेको नै कटुवाल हुने गरेको वडाध्यक्ष बुढामगरको भनाइ रहेको छ । 

वर्षभरि कटुवालले विभिन्न सूचना प्रदान गरेबापत प्रतिघरबाट वर्षको दुई पटक हिउँदे बालीको एक पाथी र बर्खे बालीको एक पाथी अन्न दिने गरिएको वडाध्यक्ष बुढामगरले बताउनुभयो । 

एक कटुवालको कार्यकाल दुईदेखि पाँच वर्षसम्म हुने गरेको छ । कटुवाल छनोट गाउँ भेलाबाट गर्ने गरिएको छ ।