• ६ साउन २०८१, आइतबार

जुनूको प्रदीप्त मन सार्वजनिक

blog

काठमाडौं, साउन ६ गते । कवि जुनू घिमिरेको कवितासङ्ग्र्रह प्रदीप्त मन सार्वजनिक गरिएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अशेष मल्ल, डा. नवराज लम्साल, शैलेन्दुप्रकाश नेपाल र डा देवी नेपालले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको हो ।

नाटककार मल्ले जुनू घिमिरेको कवितामा समयको स्वर रहेको चर्चा गर्दै उहाँका कविता सरल छन् तर वोधगम्य भएको बताउनुभयो ।

कवि डा. नवराज लम्सालले जुनू घिमिरेका कवितामा  अर्थबोधको हैरानी नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राम्रो बनाउने नाममा अस्पष्टता र क्लिष्टता छैन । कचपल्टेका छैनन ।”

शैलेन्दुप्रकाश नेपालले, जुनूले इमानदारीपूर्वक कविता कोरेको र शब्द समायोजनको पक्ष सुन्दर रहेको चर्चा गर्नुभयो ।

डा. देवी नेपालले सकारात्मक सोच नै जुनूका कविताको विशेषता रहेको चर्चा गर्दै लेखकले कविताको उठान र अन्त्य सशक्त भएको बताउनुभयो । 

कविहरू निर्जाला लम्साल, रचना दाहाल र सुशील शर्माले प्रदीप्त मन भित्रबाट केही कविताहरू वाचन गर्नुभएको थियो ।