• ६ साउन २०८१, आइतबार

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

blog

बागमती, साउन ६ गते। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ।मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ।

नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाउनुभएको थियो।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उहाँलाई काम चलाऊ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ।

मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेस 

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले यहाँ मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ।उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गर्ने तयारी गर्नुभएको हो।

“दुई दलबिच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, लामाले भन्नुभयो, “कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।”

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भइसकेकाले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा कांग्रेस नेता लामाले दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो। रासस