• ६ साउन २०८१, आइतबार

निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

blog

चितवन, साउन ६ गते । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको हो । उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई एक करोड राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार एक सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई दुई लाख ४५ हजार चार सय ६८ हस्तान्तरण गरिएको छ । 

उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरू मध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए । यसै गरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो । 

गत आवमा एक सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि २४ लाख ९१ हजार सात सय १० राहत रकम प्रदान गरिएको छ । भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोबापत ९१ हजार राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो । घरगोठ क्षतिबापत पाँच लाख ३५ हजार नौ सय ७५ राहत वितरण गरिएको छ । अन्नबालीमा पाँच सय २४ पटक क्षति भएको र ३६ लाख नौ हजार तीन सय ७५ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताउनुभयो । रासस