• ६ साउन २०८१, आइतबार

संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक : अध्यक्ष यादव

blog

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउनुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, साउन ६ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताउनुभयो । उहाँले संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली बर्साएर, जनता मारेर घोषणा गरिएको संविधान पूर्ण नरहेको बताउनुभयो ।

अध्यक्ष यादवले तीन सयभन्दा बढी संशोधन प्रस्तुत भए पनि संशोधन नै नगरी घोषणा गरिएको बताउनुभयो । उहाँले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरूका विषयमा संविधान संशोधनको आवश्यकता रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले मुलुकको राजनीतिक अवस्था डिलमै पुगिसकेको छ । कहिले कहीँ चिन्ता हुन्छ, अब यी ठुला दलको संयुक्त सरकार असफल भए, यो सहकार्य लामो गएन भने त्यसपछिको विकल्पहरू कति दुःखद र पीडादायी होला । यो ठुलो चुनौती रहेको छ । मुलुक त्यसबेला ठुलै राष्ट्रिय सङ्कटतर्फ जानसक्छ । सङ्कटतर्फ नजाओस् भन्ने हाम्रो चाहना हो । संविधान संशोधनको सवाल अति महत्त्वपूर्ण सवाल हो ।,’’ अध्यक्ष यादवले भन्नुभयो, ‘‘यो संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए । जनतामाथि गोली बर्साएर, जनता मारेर घोषणा गरिएको संविधान हो । संविधान सभामा तीन सयभन्दा बढी संशोधन प्रस्तुत भएका थिए, छलफल नगरीकन घोषणा गरियो । यो संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक छ । शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरूका विषयमा संशोधनको आवश्यकता छ ।’’

अध्यक्ष यादवले संविधान संशोधन सार्थक रूपले अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।