• ६ साउन २०८१, आइतबार

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह । तस्बिर : रासस

काठमाडौँ, साउन ६ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ । तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले मुलुकमा दुई ठुला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताउनुभयो ।

“विगतमा राजनीतिक अस्थिरता हुँदा जनचाहनाअनुरूप काम भएन । अब स्थिर सरकार बनेको छ, यसले विगतको भन्दा सकारात्मक र प्रभावकारी काम गरेर देखाउँछ”, उहाँले भन्नुभयो । उहाँले नयाँ सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएको सरकार भएकाले जनताको अपेक्षाअनुसार प्रभावकारी काम गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नयाँ प्रशासकीय भवन सञ्चालन भएपश्चात् सेवा प्रवाह थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

कांग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहजरुपमा सेवा पाउने बताउनुभयो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय तहमा देखिएका समस्या समाधान गरी समृद्ध तारकेश्वर निर्माण गर्ने उद्देश्यले काम गरिरहेको स्पष्ट पार्नुभयो । वि.सं.२०७७ असोज २९ गते सम्झौता भई वि.सं.२०७९ चैतमा सम्पन्न भएको उक्त भवन  १७ करोड १५ लाख चार सय ८४ मा निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जानकारी दिनुभयो । रासस