• ६ साउन २०८१, आइतबार

गणतन्त्र र समावेशिता सुदृढ हुनेगरी संविधान संशोधन हुन्छ : सभापति देउवा

blog

आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादेर देउवा । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, साउन ६ गते। सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलबिच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो। 

सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताउनुभयो। उहाँले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताउनुभयो। 

सभापति देउवाले भन्नुभयो, ‘‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबिच संवाद, सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा सहमति भएको अवगत नै छ। सोही अनुसार नेकपा (एमाले) का नेता केपी शर्मा ओली  नेपाली कांग्रेस समेतको समर्थनमा उहाँ विश्वासको मतका लागि आज प्रतिनिधि सभामा प्रस्तुत हुनुभएको छ।’’ 

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले कांग्रेस र एमाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताउनुभयो।