• ६ साउन २०८१, आइतबार

आन्दोलन चर्किएपछि स्वदेश फर्किए बङ्गलादेशमा अध्ययनरत विद्यार्थी

blog

काठमाडौँ, साउन ६ गते । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । आइतबार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।

अहिलेसम्म करिब आठ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बङ्गलादेशमा जारी आन्दोलनका कारण ३५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो । आन्दोलन थप भड्किएपछि बङ्गलादेश सरकारले शनिबारदेखि नै कर्फ्यु आदेश जारी गरेको छ । बङ्गलादेशमा रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ ।


बङ्गलादेशबाट आइतबार नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरु एमबिबिएस पढ्न तीन महिनाअघि मात्रै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एमबिबिएस पढ्न तीन महिनाअघि मात्रै गएका थियौँ । यस्तो अवस्था आएपछि हामी तीन चार दिनअघिदेखि नै आउन खोजेका थियौँ । ढाकाको कलेज हो हाम्रो । हामीला कम्युनिकेसनबाट टाढा गरेको थियो ।’’

त्यस्तै, अर्का दुई विद्यार्थीले आफूहरुकै छेउछाउमा मानिसहरु मरिरहेको जानकारी पाएपछि आफूहरु त्रसित बनेको बताउनुभयो । उहाँहरुले आफूहरुलाई एम्बेसीको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हाम्रै छेउछाउमा मानिसहरु मरिरहेका थिए । बाटोमा पुलिस थिए । ठाउँ–ठाउँमा बसिरहेका थिए । एम्बेसीको गाडीले ल्याइदिएको हो । नेपाल जाने भनेपछि सहजै ल्याइदिनुभयो ।’’

त्यस्तै, अर्की विद्यार्थी आदना सुवेदीले एम्बेसीले स्वदेश फर्काउन कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले फोन गर्दासमेत बङ्गलादेशस्थित नेपाली दूतावासले नउठाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एम्बेसीले सहयोग गरेन । गाडी पठाएन । एम्बेसीले फोन पनि उठाएन ।’’

परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।