• ५ साउन २०८१, शनिबार

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई ।

पाटन (ललितपुर), साउन ५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उहाँले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भन्नुभयो । 

“विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेको छैन, कार्यकारी भूमिकामा रहेको सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर संवाद चल्नुपर्छ, युवा देशबाट बिदेसिनुको कारण राज्य पहिलो भन्ने कुरा स्थापित गर्न नसक्नु हो, हामीले पारस्परिक सहकार्य र सहयोगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौँ ।” मन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्नेछ जनाउनुहुँदै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राख्नुभयो । उहाँले युवाहरूको चाहनामा देशको विकास गर्ने गरी उनीहरूकै चाहनामा ज्ञानसीप युक्त बनाउन तालिम र कोषको विकास गरिनुपर्छ भन्नेमा जोड दिनुभयो ।

“हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ”, उहाँले भन्नुभयो । प्रविधिको क्षेत्रमा विश्वविद्यालयसँग समन्वय र छलफल गर्ने बताउनुहुँदै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालयको काम शिक्षा र सेवा दिने मात्रै हैन अनुसन्धान गर्ने पनि हो भन्ने धारणा राख्नुभयो ।

“नौलो र नवीन काम गर्न डराउनु हुँदैन, विद्यालय शिक्षालाई उत्कृष्ट बनाउन उच्चशिक्षा पनि राम्रो हुनुपर्छ, देशको उन्नति र स्रोत साधनको उपयोगका लागि ध्यान दिनुपर्छ । जिम्मेवारी, रणनीति योगदानको मूल्याङ्कन गर्दै नेपालको शिक्षालाई अगाडि बढाउने काममा हामीले गर्ने काम महत्त्वपूर्ण हुनेछ ।” प्रा.डा.थापाले भन्नुभयो । माध्यमिक शिक्षकको हैसियतभन्दा प्राविधिक धारका शिक्षा दिने इन्जिनियरको मान्यता विद्यालय तहमा नहुनुले समस्या छ भन्नुहुँदै उहाँले विद्यार्थीले खोजेका चाहना पूरा गरेर ज्ञान पनि भरिदिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नवीनतम प्रविधि र शिक्षाको क्षेत्रमा नेपाल सरकारले के भन्छ भन्दा पनि अन्तर्राष्ट्रिय संस्थाहरूले के भन्छ भन्ने अहिले हाम्रो चुनौती छ भन्नुहुँदै उहाँले विश्वविद्यालयले ‘मेन्टरिङ’ गर्नेमा ध्यान दिनुपर्छ भन्नेमा जोड दिनुभयो । हामीलाई समृद्ध बनाउने परम्परागत सीपलाई छोडेर आधुनिकतातर्फ जाँदा दुःख पाइरहेका छौँ भन्नुहुँदै उहाँले काठमाडौँ विश्वविद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अत्यन्तै प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।

मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रदान गर्ने निकायमा विद्यार्थी भर्ना दर सन्तोषजनक नभएको बताउनुभयो । उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा लक्ष्य र बजारको तालमेल हुन सकिरहेको छैन भन्दै यसतर्फ सरकारको बजेट विनियोजन कम भएको धारणा राख्नुभयो । उहाँले बजारको मागअनुसार सिटिइभिटीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गर्नुभयो । काठमाडौँ स्कुल अफ एजुकेसनका डीन प्रा.डा.बालचन्द्र लुइँटेलले विश्वविद्यालयले तीन वर्षयता समुदायसँग मिलेर काम गरिरहेको जानकारी गराउनुभयो । 

उहाँले देशका १९ वटा पालिका समुदायमा पुगेर ३६ वटा शैक्षिक संस्थाका साथै अन्य निजी संस्थासँग मिलेर काम गरिरहेको बताउनुभयो । पूर्वडिन तथा प्राध्यापक डा.महेशनाथ पराजुलीले प्राविधिक र व्यावसायिक शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको विश्वविद्यालयले देशभरका विभिन्न पाँच स्थानमा कार्यक्रम गर्दै आएको र सात वर्षदेखि विभिन्न विषयमा अनुसन्धान गरेको जानकारी गराउनुभयो । उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षामा सहयोग पुर्‍याउन गरिने अनुसन्धान र तथ्याङ्कलाई विश्वसनीय बनाउँदै सङ्घीय सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने अभिप्राय विश्वविद्यालयको रहेको बताउनुभयो । रासस