• ४ साउन २०८१, शुक्रबार

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैन : मन्त्री खड्का

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।

काठमाडौँ, साउन ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

“कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्याउनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले वर्षातमा  बाढी र पहिरोका कारण ठूलो क्षति हुने भएकाले त्यसको समाधानमा विभाग चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले बर्खाको पानीलाई सही सदुपयोग गर्न सके कृषि क्षेत्रमा सहयोग पुग्नसक्ने बताउनुभयो । 

उहाँले कतिपय आयोजनाहरु लामो समयसम्म सम्पन्न नभएको भन्दै कार्यान्वयन हुनेगरी आयोजनामा लगानी गर्नुपर्ने बताउनुभयो । मन्त्रालयकी सचिव सरिता दवाडीले देशको आर्थिक विकासको मेरुदण्ड कृषि क्षेत्र भएकाले कृषिलाई अगाडि बढाउन सिँचाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले १५ लाख ५० हजार हेक्टर जमिनमा सिँचाइको पूर्वाधार विकास भएपनि १० लाख क्षेत्रफलमा पूर्वाधार विकास हुन बाँकी रहेको बताउनुभयो ।

सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले छ वटा राष्ट्रिय गौरवका आयोजनालाई सिँचाइ विभाग अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले सिँचाइका योजनालाई समयमै  सम्पन्न गर्न सके नेपालको सिँचाइ क्षेत्रले फड्को मार्ने उल्लेख गर्नुभयो । विभागले ‘डिप ट्युबेल’मार्फत तीन लाख १८ हजार हेक्टर जमीनमा सिँचाइको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । रासस