• ४ साउन २०८१, शुक्रबार

बाँके राष्ट्रिय निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ

blog

संयुक्त गस्ती टोलीले पक्राउ गरेका शिकारी थारु र मरेको चित्तल तथा बन्दुकलगायत । तस्बिर सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज

सिराज खान 

नेपालगन्ज, साउन ४ गते । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षीय मोहन थारु रङ्गेहात पक्राउ परेका हुन् । 

कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो । थारुको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरिएको छ ।

पक्राउ परेका थारुविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको जनाउँदै प्रमुख संरक्षण अधिकृत शाहले चोरी शिकारीमा संलग्न अन्यको बारेमा पनि सोधपुछ गरिरहेको बताउनुभयो । 

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने क्रम बढेपछि निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिंदै आएका छन् । सोही गस्ती टोलीले थारुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका थारुविरुद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजाना अन्तर्गत मुद्दा चलाइने बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।