• ४ साउन २०८१, शुक्रबार

सुनकोसीको पानी उपभोक्ताको घर-घरमा

blog

घर अगाडि बनेको धारामा खानेपानीको गाग्री भर्दै शिखरकटेरी देउरालीका उपभोक्ता । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, साउन ४ गते । सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिका-३ शिखरकटेरी देउरालीका बासिन्दाले विद्युतीय लिफ्टबाट घर-घरमा खानेपानीको सुविधा पाएका छन्।

‘एक घर, एक धारो’ अभियान अन्तर्गत सुनकोसीको पानी लिफ्ट गरी उक्त गाँउको घर घरमा पु र्‍य ाएपछि ५९ घरका उपभोक्ताई खानेपानी सुविधा मिलेको हो । भर्खरै शिखरकटेरी देउराली लिफ्ट खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरी सञ्चालन गरिएको स्थानीय उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ता टीकामाया श्रेष्ठ खानेपानी योजना उद्घाटन हुँदा खुशीले गाउँभरिका उपभोक्ता एक ठाउँ भेला भएर दिनभरि नाचेको बताउनुहुन्छ ।

"हामीलाई खानेपानीको धेरै दुःख थियो, अब त्यो समस्या सधैंलाई हटेको छ," उहाँले भन्नुभयो, "अहिले गाउँभरिमा नै एक घर, एक धारा निर्माण भएको छ । चौबिसै घण्टा धारामा पानी आइरहेको छ । धेरै उत्साहित भएका छौं ।’ उपभोग गरेर बढी भएको पानीले करेसा बारीमा आफूलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्ने अवसर मिलेको छ ।"

उक्त ठाउकाँ लागि ल्याएको पहिलेको खानेपानी योजना धेरै पुरानो भएको र मुहान सुकेर आउन छाडेपछि गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारमा  नयाँ योजना निर्माण गरिएको उक्त वडाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ सुनाउनुहुन्छ । 

उहाँले भन्नुभयो, ‘पहिले बस्तीभन्दा छ किलोमिटर माथि फलानचौरको फेदी तितौरे मुहानबाट पानी ल्याई उपभोक्ताले उपभोग गरेका थिए । अहिले मुहान पनि सुकेको र उक्त योजना पुरानो भई पाइप पनि लथालिङ् भएर पानी आउन छाडेको थियो ।’ गत पुस महिनादेखि नयाँ योजना निर्माण सुरु गरिएको र कुल ८१ लाख रुपियाँ लागत रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त लागतमध्ये गाउँपालिकाको २९ लाख रुपियाँ, नेवाको ३२ लाख रुपियाँ र बाँकी रकम उपभोक्ताको श्रमदान छ । शिखरकटेरी देउराली लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सुनकोसी नदीमा इनार, करिब ११ हजार लिटर क्षमताको एउटा ट्याङ्की, छ÷छ हजार लिटर क्षमताको अरु दुई वटा ट्ङ्की, पावर हाउस, पाइप लाइन विस्तार लगायतका संरचना निर्माण भएको छ ।

इनारको पानी करिब बिजुलीको सहयाताले करिब १६ सय मिटरमाथि लिफ्ट गरेर फ्याकी उपभोक्तालाई खानेपानीको बन्दोबस्त गरिएको उहाँले बताउनुभयो। खानेपानीको उपभोग गरेको बापत मासिक रुपमा उपभोक्ताले न्यूनतम शुल्क एक सय रुपियाँ र प्रति युनिट १० रुपियाँका दरले शुल्क निर्धारण गरिएको उक्त आयोजनाका अध्यक्ष बुद्धरत्न गुभाजुले जानकारी दिनुभयो ।