• ४ साउन २०८१, शुक्रबार

गैरनाफामूलक सङ्घसंस्थाको सम्पत्ति शुद्धीकरण गर्ने परिषद्को निर्णय

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषदका अध्यक्ष नवलकिशोर साह सुदी ।

ललितपुर, साउन ४ गते । समाज कल्याण परिषदले सङ्घसंस्थाको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निर्णय गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त मन्त्री तथा परिषदका अध्यक्ष नवलकिशोर साह सुडीले आज परिषदमा पदभार ग्रहण गर्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । 

परिषदमा आबद्ध भएका गैर नाफामूलक संघसंस्थाको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशिका तर्जुमा गर्न आवश्यक देखिएकाले सो निर्देशिका तयार गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो । यसैगरी मन्त्री सुडीले सातै प्रदेशमा परिषदको कार्यालय स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै मन्त्री सुदीले सम्पूर्ण कर्मचारीले सहयोग नगरेमा कुनै पनि सरकार वा मन्त्री सफल हुन नसक्ने बताउँदै सबैले एकमना एकताका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो । कतिपय सरकारको आयु कम हुँदा पनि समस्या उत्पन्न भएको भन्दै उहाँले यस पटक केही लामो समय काम गर्न सकिने अवस्था रहेको बताउनुभयो । प्रदेश सरकारमा पाँच वर्ष सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेको भन्दै उहाँले सङ्घको मन्त्रालयको नेतृत्व गर्दै गर्दा आफ्नो तर्फबाट मन्त्रालय र परिषद्लाई राम्रो बनाउन ध्यान दिने बताउनुभयो । 


समस्या सबैतिर भए पनि सबै समस्याको समाधान प्रेमपूर्वक गर्नुपर्ने बताउनुभयो । यसैगरी मन्त्री तथा परिषदका अध्यक्ष सुडीको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्का उपाध्यक्ष नन्दलाल माझीले मन्त्री सुडीको पूर्ण कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । परिषदमा थुप्रै सम्भावना र चुनौती रहेको भन्दै उहाँले कार्यदक्षता र अनुभवका आधारमा कार्यसम्पादन गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । अरु व्यक्तिको कुरामा नलागेर आफ्नो कर्ममा विश्वास गर्न आग्रह गर्दै उपाध्यक्ष माझीले सबैको प्रयत्नले मात्र परिषदले सफलता हासिल गर्ने बताउनुभयो । 

यसैगरी त्यस अवसरमा बोल्दै परिषद्का कोषाध्यक्ष विनय लामाले परिषदलाई राम्रो बनाउनका निम्ति कम्तीमा पनि दुई वर्षसम्म मन्त्रालयमा रहेर काम गर्ने वातावरण सिर्जना हुन सकेमा राम्रो हुने बताउनुभयो । परिषद्को आन्तरिक सुशासन कायम गर्न कतिपय काम गर्नुपर्ने बताउनुभयो । परिषदको भृकुटीमण्डप व्यवस्थित गर्न आवश्यक रहेको भन्दै उहाँले परिषदलाई सरकारी निकायले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । 

यसैगरी परिषद्का सदस्य सचिव मनोज भट्टले गैरसरकारी संस्थाहरुले ल्याएको रकम परिषद्ले स्वीकृत गरेपछि राष्ट्र बैंकले उनीहरुको खातामा रकम पठाउने व्यवस्था भए पनि कतिपयले परिषदले यी कुरा नबुझेर गलत कुरा फैलाउने अवस्था पनि रहेको बताउनुभयो । परिषद्ले अनुगमन, मूल्याङ्कन गर्ने बताउँदै उहाँले यी कुरा सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभयो । परिषद्सँग स्रोत, जग्गा सबै भए पनि आफ्नै भवन नहुँदा दैनिक कामकाज सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो । राज्यका कार्यक्रम नपुगेका ठाउँमा गैरसरकारी संस्थामार्फत कार्यक्रम पुर्याउन निम्ति कतिपय ऐन, कानून समयानुकूल बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

यसैगरी परिषदका आर्थिक प्रशासन विभागीय प्रमुख सञ्जय मल्लिक, परिषद कर्मचारी सङ्घका अध्यक्ष प्रकाशचन्द्र भट्ट, परिषद कर्मचारी संगठनका अध्यक्ष बिकुल आचार्यले मन्त्री तथा परिषद्का अध्यक्ष सुदीको कार्यकाल सफलताको कामना गर्दै परिषदमा लामो समयदेखि कर्मचारीहरुको वृत्ति विकास रोकिएकोले ती कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो । परिषद्का उपाध्यक्ष नन्दलाल माझीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिषद्का योजना तथा कार्यक्रम विभागीय प्रमुख रामराज भट्टराईले गर्नुभएको थियो ।