• १० मंसिर २०८१, सोमबार

विपतमा लत्पतिएका विम्ब

blog

प्राकृतिक विपत् रोक्न वा छेक्न त सकिँदैन तर सरकारले दूरगामी नीति र स्पष्ट दृष्टि राखेर त्यसबाट हुने क्षति न्यूनीकरण भने गर्न सक्छ तर क्षति न्यूनीकरणका लागि भइरहेका प्रयास हेर्दा दुःख लाग्छ । पछिल्ला विपत्का ताजा दृश्य हेर्दा हरेक नेपालीको मन रुन्छ, जुन हामीले हरेक बर्खा मौसममा देखिरहेका हुन्छौँ, भोगिरहेका हुन्छौँ । 

बर्खा अनि झरी, प्रकृतिका यी बैँसालु पल सुन्दरताले जति उन्मत्त हुन्छन्, त्यत्ति नै भयानक पनि । मान्छे अनि प्रकृतिबिचको यो आदिम साइनोमा जब उल्झनहरू आउन थाल्छन्, अनि ती एकअर्काका लागि खतरनाक हुन्छन् । भनिन्छ, आपत्विपत् बाजा बजाएर आउँदैन तर यसको शालीनता भने हमेसा प्राणीजगत्का लागि खतरापूर्ण छ । प्राकृतिक विपत् रोक्न वा छेक्न त सकिँदैन तर सरकारले दूरगामी नीति र स्पष्ट दृष्टि राखेर त्यसबाट हुने क्षति न्यूनीकरण भने गर्न सक्छ तर क्षति न्यूनीकरणका लागि भइरहेका प्रयास हेर्दा दुःख लाग्छ । पछिल्ला विपत्का ताजा दृश्य हेर्दा हरेक नेपालीको मन रुन्छ, जुन हामीले हरेक बर्खा मौसममा देखिरहेका हुन्छौँ, भोगिरहेका हुन्छौँ । 

गत शुव्रmबार बिहान उज्यालो नहुँदै सडकमा गुडिरहेका दुई यात्रुबाहक बस पहिरोसँगै खसेर त्रिशूलीमा बगे । त्यसमा ६५ जनाभन्दा बढी मानिस भएको बताइएको छ । त्रिशूलीको बेगसँगै ती बसमा सवार मानिस हराइरहेका छन् । केही शव फेला परेको छ । 

आजको विश्व एउटा ब्रह्माण्डमा मात्र सीमित छैन । चन्द्रमाको आँगनमा मान्छेको पाइला पुगेको वर्षौं भइसक्यो । समुद्रमुनि मान्छेको बस्ती विस्तार भइरहेको छ, मङ्गलग्रह मान्छेका लागि नयाँ गन्तव्य बनिसकेको छ । हामी भने कहाँ छौँ, कस्तो संसारमा छौँ, जहाँ एउटा नदीमा हराएका त्यत्रा मान्छे कैयौँ दिनसम्म भेट्न सक्दैनौँ । अनि हराएका बस हप्ता दिन पुग्दासम्म भेट्नै सक्दैनौँ । प्रविधिको यो युगमा नदीले निलेका बस खोज्न चुम्बक 

बगाइरहेका छौँ । 

हामीसँग त्यस्तो कुनै प्रभावकारी उद्धार या राहत प्रणाली छैन । संयन्त्र छैन । कुनै नीति वा नियम छैन । प्रणालीको अभावमा हामी त्यसै रुमलिइरहेका छौँ । हामीले ठुला भूकम्प झेलिसकेका छौँ । ठुल्ठुला दुर्घटनाको सिकार भइसकेका छौँ । ती सबैमा हाम्रो न कुनै संरचनागत उद्धार संयन्त्र छ न त तत्कालै परिचालन गर्ने कुनै प्रणाली । आपत्विपत्का बेला चाहिन्छ भनेर कुनै एउटा प्रतिबद्ध उद्धार र राहत संरचना बनाएर त्यसलाई हरपल तयारी अवस्थामा राख्नु पर्छ भनेर हामीले सोच्न सकेनौँ । हामी कहिल्यै चेत्दै चेतेनौँ । 

यो एउटा दुर्घटना मात्रै होइन यो त देशले हरेक वर्ष भोगिरहने एउटा प्राकृतिक विपत्को अनन्त चव्रm पनि हो । शासन प्रणालीको एउटा क्षतविक्षत विम्ब पनि हो । सरकार सचेत र सजग हुनु पर्छ । हामीले अपेक्षा गर्ने सरकारबाटै हो । 

राजधानीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने यो एक मात्रै ठुलो बाटो हो । सवारीसाधनको लाखौँ ओहोर दोहोरमा यस्ता दुर्घटना यस अघि पनि हुँदै आएका छन् । वर्षाको यो मौसममा हुने बाढी–पहिरो मात्रै होइन, त्रिशूलीले पनि हरेक दिन जसो कतिपय मानिसको ज्यान निलिरहेको हुन्छ । त्रिशूली एउटा प्राकृतिक वरदान त हो नै तर मान्छेको जात प्रकृतिसँग जति जिस्किन खोज्छ, त्यसको प्रतिरोध पनि उत्तिकै भयङ्कर हुन्छ । यो कुरा मान्छे जान्छ तर आफ्नो स्वभाव बदल्न सक्दैन र निरन्तर प्रकृतिलाई बिथोल्न खोज्ने परिणाम दुःख भोगिरहेकै छौँ । 

बितेको करिब डेढ दशकमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्, यिनै सडक दुर्घटनामा परेर । सडक दुर्घटनालाई राज्यले न अपनत्व लिन्छ न त जिम्मेवारी बोध । यो दशकमा मात्रै सडकले निलेका हजारौँको ज्यानको मूल्य सायदै चुकाउन सकिएला तर हामीले चेत्नुपर्ने कुरा पनि चेतिरहेका छैनौँ । देशभरि यो डेढ दशकमा भएका भएका दुर्घटनमा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । यसको जिम्मेवारी राज्य अनि यो शासन प्रणालीले लिनु पर्छ कि पर्दैन ? दुर्घटना आफैँमा एउटा दुर्घटना नै हो तर एउटा लोककल्याणकारी राज्यप्रणालीमा यो भवितव्य मात्रै होइन । 

‘डोजरे इन्जिनियरिङ’ ले खोतलेका नेपालका सडकमा दुर्घटना सामान्य जस्तै लाग्छन् । भुइँमान्छेले निरन्तर बेहोरिरहेको यो पीडालाई राज्यले कहिल्यै आफ्नो घाउ मान्दैन । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको मूल्य राज्यले कहिल्यै मूल्यवान् ठान्दैन । विकासका नाममा हामीले गरिरहेको मनोमानीले प्रकृति बिथोलिइरहेको छ । अनि त्यसले आमनागरिकको जीवन मेटाइरहेको छ । कस्तो विकास गर्ने, कस्तो संरचना कहाँ र कसरी बनाउने भनेर हामीले कहिल्यै कुनै दीर्घकालीन रणनीतिमाथि विमर्श गरेका छैनौँ । यस्तो लाग्छ, हाम्रो प्रणाली त्यतातिर जानै चाहन्न । 

सरकारले यस्ता आपत्बाट बच्न अनि बचाउनका लागि पूर्वतयारी वा प्रतिकार्यका लागि भनेर हरेक वर्ष अर्बौं रकम खर्च गरिरहेको हुन्छ । हरेक वर्ष विपत्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न भन्दै राज्यका निकायले धुमधामै पूर्वतयारी गर्छन् तर हामीले देखिरहेका छौँ, भोगिरहेकै छौँ, सामान्य वर्षाका केही छिटाहरूकै भेलले देशकै धेरै भाग डुबाइरहेको छ । यो एउटा झरीको प्रभाव मात्रै होइन, यो त देशको भयानक विम्ब पनि हो । यो एउटा वर्षा वा बाढीको डुबान मात्रै होइन, यो त हाम्रा शासकीय प्रणाली कस्तो छ भन्ने तस्बिर पनि हो, जसलाई हेरेर लजाउनुपर्ने वर्ग कहिल्यै लजाएन । 

यो पृथ्वी दिनदिनै उम्लिरहेको छ । यो एउटा मात्रै राष्ट्र वा कुनै क्षेत्रको मात्रै जिम्मेवारी होइन । शक्ति राष्ट्र बन्ने धुनमा उन्मत्त औद्योगिकीकरणले विश्वव्यापी रूपमै पृथ्वीको तापमान बढिरहेको छ, जसले गर्दा हिमालका हिउँ पग्लिरहेका छन् । हजारौँ वर्षदेखि आधा विश्वको सिरान बनेका हिमशृङ्खला नै हुन्, जसले अर्बौं मान्छेको प्राण भरिरहेका छन् अर्थात् पृथ्वीका आधा मान्छेका लागि पानीको प्यास मेटाउने यिनै हिउँका शृङ्खला हुन् । तातिरहेको पृथ्वी अनि पग्लिरहेका हिउँका कारण अझै हामीले भोग्नुपर्ने वा बेहोर्नुपर्ने धेरै त्यस्ता विपत् छन्, जो अवश्यम्भावी पनि हुन् । यसलाई अहिलेको वैज्ञानिक भाषामा जलवायु परिवर्तन पनि भन्ने गरिएको छ । यो एउटा मात्रै देशको कुरा होइन, सारा विश्वले नै यसलाई अपनत्व लिइरहेको छ । ठुल्ठुला देशहरूले आफ्नो तरक्कीका लागि बिथोलिरहेको पर्यावरणीय चव्रmले गर्दा हाम्रो जस्ता देशका आममानिसले आफ्नो जीवनकै मूल्य चुकाउनु परिरहेको छ । यो अमूल्य ‘लस एन्ड ड्यामेज’ को मूल्य पैसाको अङ्क गणितमा साट्नै मिल्दैन । आफ्नो अधिकारका लागि हामी यो विश्वव्यापी समस्यासँग जुध्नै पर्छ । जति ढिला भयो हामीले उति नै धेरै क्षति बेहोर्नु पर्ने छ । 

विश्वव्यापी यो सङ्कटमा हाम्रो जस्तो देशको भागिदारी एकदमै नगन्य छ । नेपाल जस्तो विकासशील देशले त्यसको परिणाम मात्रै धेरै भोग्नु पर्छ, जसको सुरुवात भइसकेको छ । हाम्रो जीवनमा ठोक्किन आइरहने यी विपत् त्यसकै परिणाम हुन् तर पनि हामी सचेत भइरहेका छैनौँ । यस्तोमा हामीले विश्वशक्ति राष्ट्रहरूबाट बाँच्न र बचाउन पाउने हाम्रो अधिकारका लागि बलियो लडाइँ लडेकै छैनौँ । अर्थात् भनौँ हामीले त्यसमा हाम्रो जीवनको मूल्य मानेकै छैनौँ । सहयोगमा अएको केही रकमलाई नै हामीले उपलब्धि ठान्यौँ । हाम्रा कार्यकारी प्रणाली सुधार्न अनि प्रविधिको विकासमा कहिल्यै ध्यान दिन सकेनौँ । विपत्बाट बच्ने नाममा हामीले तारे होटलहरूमा गर्ने कर्मकाण्डले आमनागरिकको ज्यान बाँच्दैन । नागरिकको ज्यान अनि उनीहरूको भौतिक क्षति अन्ततः राज्यकै क्षति हो, जसलाई पुनर्जीवित गर्न राज्यले कैयौँ मूल्य चुकाउनु पर्छ । यतातिर हामीले सोचेका पनि छैनौँ वा सोचेर पनि केही गर्न सकिरहेकै छैनौँ । 

हाम्रै पुस्तामा धेरै परिवर्तन भइसकेको छ । राजनीतिक व्यवस्था फेरिसकेका छौँ । शासकीय प्रणाली र पद्धति फेरिसकेका छौँ । फेर्न र फेरिन नसकेको त हाम्रो सोच र काम गर्ने तरिका मात्रै हो । अब यसलाई बदल्नै पर्छ । काम गर्ने तरिका बदलिनु पर्छ । फेरिएका शासकीय अनि राज्यका व्यवस्था र प्रणालीमा जिउँदो र जाग्दो प्राण भर्नै पर्छ ।

Author

डा. शोभाकर पराजुली