• २ साउन २०८१, बुधबार

मुसहर परिवारलाई बिमा रकम

blog

बर्दीबास १२ को मुसहर परिवारलाई बिमा चेक हस्तान्तरण गर्दै उपप्रमुख तारादेवी महतो लगायत । तस्बिर : रवीन्द्र उप्रती

रवीन्द्र उप्रेती

बर्दिबास, साउन २ गते । बर्दिबासका एक दलित परिवारले पहिलोपटक बिमा रकम पाएका छन् । बर्दिबास १२ स्थित बिजलपुराकी ६४ वर्षीय मृतक रामरतीदेवी सदाको परिवारले बिमा रकमबापत एक लाख रुपियाँ भुक्तानी पाएको हो । 

नगरपालिकाकी उपप्रमुख तारादेवी महतो, १२ र १४ नं का वडाध्यक्षहरू रामकिशोर साह तथा विजय महतो र लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्सका महोत्तरी प्रमुख रवीन्द्र मिश्रले बुधबार मुसहर बस्तीमै पुगेर मृतकका परिवारलाई बिमाबापतको चेक हस्तान्तरण गर्नुभएको हो । 

यो परिवार बिमा रकम पाउने मुलुककै पहिलो मुसहर समुदाय भएको दाबी गरिएको छ । सीमान्तकृत जातीमा पर्ने मुसहर समुदायको सुरक्षित भविष्य र सर्वाङ्गीण हितका लागि नगरपालिकाले बर्दिबास १०, १२ र १४ नं वडामा बसोबास गर्ने १८ देखि ६९ वर्ष उमेर समूहका ४५० जना मुसहरको प्रति व्यक्ति एक लाखका दरले वैशाख महिनामा ‘सामूहिक म्यादी लघु जीवन बिमा’ गरेको थियो । सोही स्किम बापत मृतक परिवारले पहिलोपटक बिमा रकम पाएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताउनुभयो । 

बिमा रकम पाएपछि मृतक परिवारले राहत महसुस गरेको छ । मृतकका श्रीमान् परीक्षण सदाले काजक्रियामा लागेको २५ हजार जति ऋण तिर्न सहज भएको बताउनुभयो । बाँकी रहेको रकमले औषधीमूलो गर्न र परिआएको बेलामा कसैसँग हात पसार्नु पर्ने स्थिति अन्त्य भएको बताउनुभयो । 

बिमा चेक बुझ्दै मृतकका श्रीमान् परीक्षण सदाले भन्नुभयो, ‘नगरपालिकाले लगाएको यो गुन कहिले बिर्सन सक्दिन ।’ बनीबुतो गरेर जीवन निर्वाह गर्ने मुसहर परिवारका लागि एक लाख रुपियाँ पाउनु भनेको ठुलो कुरो भएकोले बिमा रकमको दुरुपयोग र ललाई फकाई ठगी गर्न नपाओस् भनी वडा कार्यालयले सदा परिवारलाई निगरानीमा राखेको वडा नं १२ का वडाध्यक्ष रामकिशोर साहले बताउनुभयो । 

बिमा प्रमुख मिश्रका अनुसार चेक रकम मृतकका श्रीमान् परीक्षण सदाको बैङ्क खातामा जम्मा गरिएको छ । मिश्रले ‘सामूहिक म्यादी लघु जीवन बिमा’ को भुक्तानी पाउने परीक्षण सदा मुलुकमै पहिलो मुसहर समुदाय भएको दाबी गर्नुभयो । चेक हस्तान्तरण गर्दै उपप्रमुख तारादेवी महतोले भन्नुभयो, ‘बिमा रकमले शोकमा डुबेका परिवारको आँसु पुछन मद्दत पुग्ने विश्वास लिएकी छु ।’

ज्वरोले ग्रस्त रामरतीदेवी सदाको असार २ गते मृत्यु भएको थियो ।