• २ साउन २०८१, बुधबार

चट्याङ लागेर चार घाइते

blog

उपचारका लागि घाइतेहरु योगी नरहरिनाथ आधारभूत अस्पतालमा । तस्विरः प्रेमराज सिम्खडा

प्रेम सिम्खडा 

कालीकोट, साउन २ गते । कालीकोटको नरहरिनाथ गाउँपालिकाको –५ मा पर्ने लेकाली क्षेत्रमा चट्याङ लागेर चार जना घाइते भएका छन् । 

भेडीगोठमा लागेको चट्याङले चार जना गोठाला घाइते भएका हुन् । गोठमा रहेका एक सय ४१ भेडा बाख्रा पनि घाइते भएका छन् । चट्याङ लागेर घाइते हुनेमा नरहरिनाथ गाउँपालिका –७ का ३६ वर्षीय ऐनबहादुर बुढा, वर्ष १८ का गणेश बुढा, वर्ष २२ का मानबहादुर बुढा र वडा ४ घर भएका वर्ष ३१ का दानबहादुर बुढा छन् । 

चट्याङले एउटा कुकुर र एउटा खसीको ज्यान गएको छ । रेडक्रस नरहरिनाथ उपशाखा सभापति रामबहादुर बटालाले बर्षातको समयमा चरिचरनका लागि कालीकोट र बाजुराको सिमा क्षेत्रमा पर्ने भितीमा घटना भएको बताउनुभयो । 

चट्याङले घाइते भएकाको योगी नरहरिनाथ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । सभापति बटालाले घाइतेमध्ये दानबहादुर बुढाको अवस्था गम्भीर छ । थप उपचारका लागि उहाँलाई सुर्खेत अस्पताल रेफर गरिएको बताउनुभयो ।

अस्पतालका अनुसार दानबहादुर बुढाको शरीरको भाग धेरै जलेको छ । अन्य तीन जनाको पनि खुट्टाकाे भाग जलेको छ ।