• २ साउन २०८१, बुधबार

पहिरोले टहरा पुर्दा चार जना भूकम्प पीडित गम्भीर घाइते

blog

घाइतेहरूलाई बोकेर स्वास्थ्य संस्थातर्फ लग्दै स्थानीय तथा नेपाल प्रहरीको टोली । तस्बिर: गाेरखापत्र

सहदेव बस्नेत

जाजरकोट, साउन २ गते । जाजरकोटमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना गम्भीर  घाइते भएका छन् । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथि वाट पहिरोले परेर उनीहरु घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषाेत्तम पाण्डेका अनुसार घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ का दलसरी थापा, उहाँकी छोरी ४ वर्षीया हस्तीका थापा, बर्ष २९की कमला थापा, र १७ वर्षीया निरमाया थापा छन् ।

घाइतेहरूमध्ये विष्णु थापाको अवस्था गम्भीर रहेको जनाइएको छ । राती भएको घटना लगत्तै वडा अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी गराएपछि प्रहरी चौकी पैंकबाट घटनास्थलमा पुगी घाइतेहरूलाई  उद्धार गरिएको थियो । 

घाइतेहरूलाई प्रहरी र स्थानीयले बोकेर  सुरक्षित स्थानमा राखिएको र  अहिले उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भएको वडा अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो । घाइतेहरूलाई   हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको डिएसपी पाण्डेले जानकारी दिनुभएको छ । मौसम प्रतिकूलताका कारण हेलिकोप्टर आउन ढिलाइ भइरहेको डिएसपी पाण्डेको भनाइ छ ।