• २ साउन २०८१, बुधबार

‘लोकसंस्कृतिले राष्ट्रिय एकता सुदृढ बनाउने’

blog

काठमाडौँ, साउन २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक क्षेत्रले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ । 

राष्ट्रपति धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको एक सयौैँ जन्मजयन्ती तथा पुरस्कार वितरणमा यस्तो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारको योगदान महìवपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोककलाकार तथा लोकसंस्कृतिकर्मी राष्ट्रका गहना हुन् । लोकसाहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो । सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ ।”

नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश भएको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो । हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन् ।” उहाँले थप्नुभयो, “यसैको विकास, संरक्षण र प्रवर्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ ।” उहाँले नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, सङ्गीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको चर्चा गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवर्धनमा धर्मराजको योगदान नेपाल र नेपालीले कहिल्यै बिर्सने छैनन् भन्नुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको संस्कृति नेपाली समाजको प्राण भएको र धर्मराज थापाका गीतले विश्वभरका नेपालीलाई समेटेको बताउनुभयो । उहाँले थापाका गीतमा नेपालको त्योबेलाको कृषिमा आधारित अर्थतन्त्र र नेपाली राष्ट्रवादको व्याख्या गरिएको चर्चा गर्नुभयो । राष्ट्रपति पौडेलले साहित्यकार वैरागी काइँलालाई धर्मराज–सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० प्रदान गर्नुभयो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । कलाकार एलपी जोशीलाई धर्मराज–सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार प्रदान गरिएको छ ।