• १ साउन २०८१, मङ्गलबार

मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

blog

बाटोर (मङ्गोलिया), साउन १ गते । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानीसम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

कुस्ती, धनुर्विद्या र घोडा दौड जस्ता परम्परागत खेलहरूका लागि प्रसिद्ध नादम जुलाई ११ देखि जुलाई १५ सम्म वार्षिक रूपमा मनाउने आधिकारिक बिदा हो ।

पीडितमध्ये बाइस जना वयस्कका साथै भने दुई जना बालबालिका रहेको एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पश्चिमी प्रान्त बयान–उल्गीको उलानखुस सुमको ग्रिन लेकमा पाँच जनाको डुबेर मृत्यु भएको छ । तीमध्ये एकजना पौडी खेल्ने क्रममा डुबेका थिए भने अरूको उसलाई बचाउने प्रयासमा मृत्यु भएको थियो ।

मङ्गोलियाभरका प्रमुख नदीहरूमा पानीको स्तर ४० सेन्टिमिटरसम्म चेतावनी स्तर नाघेको एजेन्सीले जनाएको छ । जनतालाई पानीसँग सम्बन्धित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । रासस/सिन्ह्वा