• १ साउन २०८१, मङ्गलबार

सीमा अपराध नियन्त्रणका लागि बेलहियामा ‘वाकथ्रु मेसिन’

blog

फाइल तस्बिर ।

लक्ष्मण पौडेल

भैरहवा, साउन १ गते । सीमा अपराध नियन्त्रणका लागि बेलहिया नाकामा ‘वाकथ्रु मेसिन’ जडान गरिएको छ । यो बेलहिया स्थलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो ।

सीमाबाट हुनसक्ने अपराधलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाको साढे पाँच लाख आर्थिक सहयोगमा नाकामा उक्त प्रविधि जडान गरेको हो । प्रविधि जडानले सीमाबाट हुने अपराध नियन्त्रण गर्न सकिने विश्वास लिइएको छ । स्थलमार्गको सीमानाकाहरुमध्ये ‘वाकथ्रु मेसिन’ जडान गरिएको बेलहिया नाका सम्भवतः पहिलो हो ।

भारतबाट नेपाल प्रवेश गर्दा पुरानो स्वागतद्वारा बायाँतर्फ उक्त प्रविधि जडान गरिएको छ । सीमाबाट आवातजावत गर्ने सर्वसाधरणले अब सोही ‘वाकथ्रु मेसिन’ हुँदै सुरक्षा जाँच गराएर मात्र मुलुकमा प्रवेश पाउँछन् । भारततर्फ सुनौली नाकामा वर्षौअघि ‘वाकथ्रु मेसिन’ जडान गरेर सोही वाकथ्रु हुँदै परिचय पत्र हेरेर र आवश्यक परे यात्राको विवरण टिपोट गरेर मात्र भारतमा प्रवेश दिने गरिएको छ । तर, नेपालमा भित्रिँदा जनशक्ति अभावमा सुरक्षाकर्मीले सबैको सुरक्षाजाँच गर्न सकेका थिएनन् । प्रविधि जडानले अब भारतबाट नेपाल प्रवेश गर्नेहरुको सहजै सुरक्षा जाँच गर्न सकिनेछ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अप्रयाप्त जनशक्तिले मुलुकमा प्रवेश गर्ने अधिकांशको सुरक्षा जाँच समेत नहुने भएकोले सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यले नाकामा ‘वाकथ्रु मेसिन’ जडान गरिएको बताउनुभयो । उहाँले भारतबाट मुलुकमा प्रवेश गर्ने सबैको ‘वाकथ्रु मेसिन’ हुँदै सुरक्षाजाँच हुने र नेपालबाट भारत जान लागेको अवस्थामा पनि सुरक्षाकर्मीलाई शंका लागे जाँच गर्ने बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरवासीलाई सुरक्षित र भयरहित वातावरण आफ्नो व्यवसाय जीवनयापन चलाउनका लागि नगरपालिकाले प्रशासनसँग मिलेर कार्य गरिरहेको बताउनुभयो । यसअघि भैरहवा भन्सार कार्यालयले पनि राजस्व छली नियन्त्रणका लागि नाकामा एक्सरे मेसिन जडान गरेको थियो । मेसिन बिग्रिएपछि मर्मत नगरी थन्काइएको छ । जुन प्रविधि सीमाबाट हुने अपराध नियन्त्रणका लागि आवश्यक थियो ।