चितवन समाचारदाता
चितवन, असार ३१ गते । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटीय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ ।
आइतबार सिमलताल पहिरो र बस दुर्घटनास्थलको स्थलगत निरीक्षणपछि महानगर प्रमुख रेनु दाहालले भरतपुर–२९, १, ३, १६, १७, १८, २६, २७ र २८ का स्थानीयलाई यस्तो आग्रह गर्नुभएको हो ।
“तटीय क्षेत्रमा छ वटा शव भेटिएका छन्,” उहाँले भन्नुभयो, “सुरक्षाकर्मीसँगै तटीय क्षेत्रमा बसोबास गर्ने जनताले निगरानी बढाउँदा थप शव फेला पर्न सक्छन् । यसका लागि स्थानीय संयन्त्र पूर्ण रूपमा परिचालन भइरहेको छ ।”
भरतपुर महानगरपालिकाले दुर्घटनामा बेपत्ताको खोजी कार्यका लागि घटनाको दिनदेखि आवश्यक यन्त्र, उपकरणको व्यवस्था गरिरहेको प्रमुख दाहालले स्पष्ट पार्नुभयो ।
उहाँले बेपत्ताको खोजी कार्यका लागि गोताखोर परिचालन भइरहेको स्थानमा निरीक्षणका साथै उद्धारमा खटिएका सुरक्षाकर्मीसँग ताजा अवस्थाबारे जानकारी लिनुभएको छ ।
होटल व्यवसायी महासङ्घले पीडित परिवारलाई खाना, बस्नका लागि प्रबन्ध मिलाइरहेको र पीडितलाई थप सहजीकरणका लागि भरतपुर महानगरपालिका तयार रहेको उहाँको भनाइ थियो । भरतपुर महानगरका प्रमुख दाहालसहित उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी घटनास्थल पुग्नुभएको थियो ।
भरतपुर–२९ कोे सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर दुई बसका यात्रु बेपत्ता छन् । बेपत्तामध्ये अहिलेसम्म छ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई बसका यात्रुको खोजी गर्न १४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
बेपत्ताको खोजी तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।
त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको छ । पानीको सतह केही घटे पनि बहाव भने उच्च रहेकाले खोजी कार्यमा असहज भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामरा, सोनारा क्यामरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।