गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३१ गते । उच्च अदालत पाटनले न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । फुटपाथ विस्तार नगर्न सडक डिभिजन कार्यालयले गरेको पत्राचारविरुद्ध काठमाडौँ महानगरपालिकाले उच्च अदालतमा जेठ २७ गते रिट दायर गरेको थियो ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश जारी गरेको हो । जेठ २८ गते नै उच्चको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।
सङ्घीय संरचनाको कार्य विस्तृतीकरणविपरीत सडक डिभिजनले महानगरको काममा रोक लगाएको भन्दै रिट दायर भएको थियो । उच्च अदालतले आयोजना वर्गीकरण मापदण्ड र कार्य विस्तृतीकरण माग गरेर विवाद निक्र्योल गरेको थियो । सङ्घीय सरकारले बनाएको उक्त मापदण्डविपरीत हुने गरी महानगरको काममा रोक लगाएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो ।